विदेशमा अध्ययनरत विद्यार्थी,दोस्रो पुस्ता र ज्ञान आदान-प्रदानका विषयमा शिक्षामन्त्री र एनआरएनए प्रतिनिधिबीच छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुष्मित पोखरेलसँग शिष्टाचार भेट गरी शिक्षा, गैरआवासीय नेपाली तथा ज्ञान–सीप आदान–प्रदानसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत तथा रचनात्मक छलफल गरेको छ।

भेटका क्रममा विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या, विदेश जानुअघि विद्यार्थीका लागि स्वास्थ्य तथा यात्रा बीमाको व्यवस्था, विदेशमा अध्ययनका क्रममा हुने आकस्मिक घटना तथा समस्यामा नेपाली दूतावासमार्फत प्रभावकारी समन्वय र सहजीकरणको आवश्यकता लगायतका विषयमा विस्तृत छलफल भएको थियो। साथै, विदेश अध्ययन प्रक्रियालाई थप व्यवस्थित, सहज र सुरक्षित बनाउन आवश्यक नीतिगत सुधारका विषयमा पनि विचार आदान–प्रदान गरिएको थियो।

छलफलमा गैरआवासीय नेपालीहरूको दोस्रो पुस्तालाई नेपालसँग थप सुदृढ रूपमा जोड्ने, उनीहरूले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र नवप्रवर्तनलाई नेपालको विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा विशेष जोड दिइयो। मन्त्री पोखरेलले प्रतिभा पलायनभन्दा पनि दोस्रो पुस्ताका नेपाली युवालाई नेपालसँग जोडेर उनीहरूको ज्ञान र क्षमताको उपयोग गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।

प्रतिनिधिमण्डलले एनआरएनएको आगामी ग्लोबल नलेज कन्भेन्सन, अन्तर्राष्ट्रिय महिला सम्मेलन तथा दोस्रो पुस्ता (युवा) सम्मेलनबारे जानकारी गराउँदै मन्त्रालयसँग सम्भावित सहकार्यका विषयमा समेत छलफल गरेको थियो।

यसैगरी, प्रारम्भिक तहदेखि नै नैतिक शिक्षा, नेपाली भाषा, संस्कृति तथा मूल्य–मान्यतामा आधारित शिक्षालाई प्रभावकारी बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो। साथै, सम्बन्धित मन्त्रालयहरूमा ज्ञान आदान–प्रदानका लागि एनआरएनए फोकल पर्सनको अवधारणा, विदेशस्थित नेपाली विद्यार्थीको हित संरक्षण तथा नेपालसँग उनीहरूको सम्बन्ध सुदृढ गर्ने विषयमा पनि विचार आदान–प्रदान भएको थियो।

उक्त भेटमा हालै मिस नेपाल उपाधि विजेता तथा एनआरएनएको दोस्रो पुस्ता (युथ विभाग) प्रमुख दीपमाला ढकालको पनि सहभागिता रहेको थियो।

एनआरएनएको तर्फबाट सचिव दिपेश खत्री, महिला संयोजक रश्मि थापा, महिला सह-कोषाध्यक्ष गंगा खतिवडा, आईसीसी सदस्य कृति महतो, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्र लगायतको सहभागिता रहेको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर