काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरि नगरपालिकाका १५ वटै वडाको अधिवेशन सम्पन्न भएसँगै नगर नेतृत्वका लागि आकांक्षीबीचको दौडधुप तीव्र बनेको छ।
आगामी असोज ७ गते हुने नगर अधिवेशनमा राजेन्द्र बानियाँलाई नगर सभापतिको प्रमुख आकांक्षीका रूपमा हेरिएको छ। लामो समयदेखि पार्टी संगठनमा सक्रिय बानियाँले पछिल्लो आठ वर्षदेखि चन्द्रागिरि कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन्।
संगठनभित्र विभिन्न चुनौती र कठिन परिस्थिति आउँदा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन भूमिका खेलेको दाबी उनका समर्थकहरूको छ। स्थानीय नेता तथा कार्यकर्तासँगको निरन्तर सम्पर्क, संगठन विस्तार र विभिन्न राजनीतिक दलसँग समन्वय गर्न सक्ने क्षमतालाई उनको प्रमुख राजनीतिक आधारका रूपमा प्रस्तुत गरिएको छ।
चन्द्रागिरिको विकास निर्माण तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका बानियाँले स्थानीय तहमा राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनाउन भूमिका खेल्दै आएको बताइन्छ। सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि सक्रिय रहेका उनी पूर्वप्राध्यापक हुन्।
राजनीतिबाहेक यातायात व्यवसायीको क्षेत्रमा समेत बानियाँले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। उनी नेपाल ट्रक यातायात व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष भएर यातायात व्यवसायी तथा श्रमिकका विषयमा काम गरिसकेका व्यक्ति हुन्।
नगर सभापतिका रूपमा आफ्नो तयारीबारे बानियाँले पार्टी संगठनलाई वडा र टोल तहसम्म थप मजबुत बनाउँदै चन्द्रागिरिको विकासमा केन्द्रित हुने बताएका छन्।
“आठ वर्षसम्म कार्यवाहक सभापतिका रूपमा संगठनलाई वडा र टोल तहसम्म सुदृढ बनाउने अवसर पाएँ। सबै साथीहरूलाई मिलाएर तथा सबै राजनीतिक दलसँग सहकार्य गर्दै चन्द्रागिरिको विकास निर्माणमा काम गरेको अनुभव छ,” उनले भनेका छन्, “अब पार्टीको पूर्ण नेतृत्व लिएर संगठनलाई थप मजबुत बनाउने र नगरको समृद्धिका लागि काम गर्ने इच्छा छ।”
चन्द्रागिरि कांग्रेसको नगर सभापतिको प्रतिस्पर्धामा कृष्णप्रसाद खड्की, प्रकाश श्रेष्ठ, रामेश्वर श्रेष्ठ र राजेन्द्र महर्जनलगायतका नेताहरूको नाम पनि चर्चामा छ। वडा अधिवेशनपछि क्षेत्रीय प्रतिनिधिहरूको समीकरणसमेत स्पष्ट हुँदै जाँदा नगर सभापतिको निर्वाचन थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।
आगामी स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवारी र संगठन परिचालनसँग नगर नेतृत्वको भूमिका जोडिने भएकाले यसपटकको अधिवेशनलाई चन्द्रागिरि कांग्रेसभित्र विशेष महत्त्वका साथ हेरिएको छ। क्षेत्रीय प्रतिनिधिहरूको मत र विभिन्न समूहबीचको सहमतिले अन्तिम परिणाम निर्धारण गर्नेछ।