लिमासोल, साइप्रस । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको दमदार सांगीतिक प्रस्तुति, विभिन्न नेपाली संघसंस्थाका सांस्कृतिक नृत्य र दसैँको टीका–जमरासहित साइप्रसमा दसैँ विशेष कार्यक्रम ‘भान्से धमाका–३’ भव्य रूपमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसको आयोजनामा अक्टोबर २५ मा लिमासोलस्थित नियो फेस्टा हलमा सम्पन्न कार्यक्रममा साइप्रसका विभिन्न सहरबाट आएका नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै प्रवासमा रहेका नेपालीहरूबीच एकता, सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
अतिथिहरूको आसन ग्रहणपछि राष्ट्रिय गान, दीप प्रज्वलन गरी उद्घाटन
कार्यक्रमको सुरुवात आमन्त्रित अतिथि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आसन ग्रहणबाट भएको थियो। त्यसपछि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। राष्ट्रिय गानपछि कार्यक्रमका सभापति तथा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसका अध्यक्ष रेशम पाण्डे, प्रमुख अतिथि तथा साइप्रसका पूर्व मानार्थ वाणिज्यदूत डा. रामजीवन पञ्जियार र विशिष्ट अतिथि तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष दातानन्द पाण्डे लगायतले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नवीन चोलागाईंले गर्नुभएको थियो भने कार्यक्रम संयोजकका रूपमा युवराज तामाङले जिम्मेवारी निर्वाह गर्नुभएको थियो। सहभागीहरूलाई संस्थाका उपाध्यक्ष गोपाल तिमल्सिनाले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।
कार्यक्रममा साइप्रसमा क्रियाशील विभिन्न फुटबल क्लब, भलिबल क्लब, जातीय संघसंस्था तथा सामाजिक समाजका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरूले अतिथिका रूपमा आसन ग्रहण गर्नुभएको थियो। विभिन्न सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
पशुपति शर्माको प्रस्तुतिमा झुमे दर्शक
कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी गायक पशुपति शर्माको सांगीतिक प्रस्तुति रहेको थियो। शर्माले ‘मलाई अमेरिका यही’, ‘क्याम्पस पढ्न आउने’, ‘स्याङ्जा जाने बाटैमा तनहुँ’ लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शकहरू उत्साहका साथ झुमेका थिए।
उहाँको दमदार प्रस्तुतिले कार्यक्रमस्थल नेपाली लोकसंगीतमय बनेको थियो। प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको प्रत्यक्ष आनन्द लिन पाउँदा सहभागीहरू उत्साहित देखिएका थिए।
त्यसैगरी, चर्चित मोडल उमा तामाङको उपस्थिति तथा कलाकार नक्कले स्याङ्तान र साजन श्रेष्ठको गायन प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
विभिन्न संघसंस्थाका सांस्कृतिक प्रस्तुतिले थप्यो रौनक
कार्यक्रममा साइप्रसमा क्रियाशील विभिन्न नेपाली संघसंस्था तथा सांस्कृतिक समूहहरूले नेपाली मौलिकता झल्काउने नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए।
मगर संघ साइप्रस, तमू समाज साइप्रस, किरात राई यायोक्खा, क्षेत्री–बाहुन समाज, तमू पेल्हु संघ, शेर्पा किदुग साइप्रस तथा नेपाल तामाङ घेदुङ साइप्रस लगायतका संस्थाहरूले आ–आफ्नो सांस्कृतिक प्रस्तुति दिएका थिए।
विभिन्न समुदायका सांस्कृतिक प्रस्तुतिले नेपाली कला, भाषा, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएका थिए। विविध जातीय तथा सामाजिक संस्थाहरूको सहभागिताले कार्यक्रमलाई सांस्कृतिक एकताको साझा मञ्चका रूपमा स्थापित गरेको थियो।
नेपाली समुदायलाई एकजुट हुन डा. पञ्जियारको आग्रह
कार्यक्रमका प्रमुख अतिथि तथा साइप्रसका पूर्व मानार्थ वाणिज्यदूत डा. रामजीवन पञ्जियारले साइप्रसमा रहेका नेपालीहरूलाई फुटेर होइन, एकजुट भएर अघि बढ्न र एकअर्काका समस्यामा सहयोग गर्न आग्रह गर्नुभयो।
उहाँले विभिन्न जातीय संघसंस्था, सामाजिक समाज तथा क्लबहरूलाई आपसी सहकार्य र समन्वयमार्फत नेपाली समुदायका समस्या समाधान गर्न पहल गर्न सुझाव दिनुभयो। साथै, साइप्रसमा रहेका नेपालीहरूले भोग्नुपरेका समस्या सम्बन्धित निकायसम्म पुर्याउन आफूले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
टीका–जमरा र दसैँको खुसी आदानप्रदान
दसैँको अन्तिम दिनको अवसरमा आयोजित कार्यक्रममा टीका र जमरासहित नेपालीहरूबीच माया, सद्भाव र भाइचाराको भावना साटासाट गरिएको थियो। प्रवासमा रहेर पनि नेपाली चाडपर्व र परम्परालाई निरन्तरता दिँदै एकै ठाउँमा भेला हुन पाउँदा सहभागीहरू उत्साहित देखिएका थिए।
कार्यक्रममा टीका तथा जमराको व्यवस्थापनमा रेखा श्रेष्ठ, विन्दु दुलाल, लक्ष्मी श्रेष्ठ र राधा बज्राचार्य लगायतले सहयोग गर्नुभएको थियो। यसले विदेशमा रहेका नेपालीहरूलाई दसैँको पारिवारिक तथा सांस्कृतिक वातावरणको अनुभूति गराएको थियो।
२५ युरोको टिकटमा नेपाली खाना र यातायातको व्यवस्था
आयोजकका अनुसार कार्यक्रममा २५ युरोको टिकट शुल्कभित्र नेपाली खानाको व्यवस्था गरिएको थियो। सहभागीहरूका लागि पानी, जुसलगायतका पेय पदार्थ उपलब्ध गराइनुका साथै कार्यक्रमस्थलसम्म आउनजान सहज होस् भन्ने उद्देश्यले बस यातायातको समेत व्यवस्था गरिएको थियो।
कार्यक्रममा डीजे अर्शाद खानले संगीत तथा प्राविधिक सञ्चालनको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँको डीजे प्रस्तुतिले सहभागीहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो।
सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति
कार्यक्रममा मिडिया पार्टनरका रूपमा सेफ्नो टीभीबाट आत्माध्वज लामा, नागरिक बोलीबाट राजाराम बस्नेत तथा न्युजलाइनबाट मनीषा अर्याल लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। एस एन्ड एस फोटोको समेत सहभागिता रहेको थियो।
नेपाली संस्कृति र एकताको साझा मञ्च
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसले नेपाली सेफहरूको व्यावसायिक विकास, नेपाली खानाको प्रवर्द्धन तथा साइप्रसमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, कलाकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सहयोगी तथा सम्पूर्ण सहभागीहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।
समग्रमा, ‘भान्से धमाका–३’ मनोरञ्जनमा मात्र सीमित नभई साइप्रसमा रहेका नेपालीहरूलाई एउटै मञ्चमा जोड्ने, नेपाली कला तथा संस्कृतिको संरक्षण गर्ने र दसैँको खुसी तथा सद्भाव आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा सम्पन्न भएको छ। पशुपति शर्माको सांगीतिक प्रस्तुति, विभिन्न संघसंस्थाका सांस्कृतिक कार्यक्रम र नेपाली समुदायलाई एकजुट हुन गरिएको आह्वानले कार्यक्रमलाई थप स्मरणीय बनाएको थियो।