नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी कैद सजाय भोगिरहेका छन् भने अहिले अरुणकुमार चौधरी फरक मुद्दामा पक्राउ परेका हुन ।

माघ १८ , काठमाडौँ
प्रहरीले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेको छ ।
कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरिएको हो ।
चौधरीलाई कैलाली जिल्ला अदालतले आगजनी गरेको अभियोगमा ६ महिना कैद र ८ लाख जरिवाना तिर्न आदेश दिएको थियो । तर, करिब दश वर्षअघिको घटनामा अदालतको फैसला कार्यान्वयन हुन सकेको छैन ।
उनलाई फैसला कार्यान्वयनका लागि कैलाली लगिएको प्रहरीले जनाएको छ ।
तत्कालीन न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले चौधरीलाई ट्याक्टरमा आगजनी गरेको अभियोगमा दोषी ठहर गरेको थियो । तत्कालीन बलिया गाउँ विकास समितिका महादेव बजगाईले चौधरीले ट्याक्टरमा आगजनी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । अदालतले मुद्दामा परशुराम चौधरी र वीरबहादुर चौधरीलाई पनि दोषी ठहर गरेको थियो ।

