साइप्रस। साइप्रसमा नेपाली दूतावास स्थापना गर्ने उद्देश्यले नागरिक बोलीको नेतृत्वमा सञ्चालन भइरहेको “हाम्रो आवाज, हाम्रो दूतावास” प्रत्यक्ष हस्ताक्षर अभियानले उल्लेखनीय जनसमर्थन प्राप्त गरिरहेको छ।
अभियानको छैटौँ दिन (अगस्ट १, आइतबार) सम्म आइपुग्दा कुल ३,१२५ जना नेपाली नागरिकले प्रत्यक्ष हस्ताक्षरमार्फत आफ्नो समर्थन जनाएका छन्।
साइप्रसमा रहेका करिब १८–२० हजार नेपाली नागरिकको साझा आवश्यकता का रूपमा रहेको नेपाली दूतावास स्थापनाको मागलाई अभियानले थप बलियो बनाउँदै लगेको छ। अभियानअन्तर्गत लिमासोल, लार्नाका र निकोसियामा प्रत्यक्ष हस्ताक्षर संकलन भइरहेको छ भने अन्य क्षेत्रमा पनि अभियानलाई विस्तार गर्ने तयारी भइरहेको नागरिक बोलीले जनाएको छ।
घरेलु काममा कार्यरत नेपाली दिदीबहिनीहरूलाई सहज रूपमा सहभागी गराउन पार्क–पार्कमा पुगेर प्रत्यक्ष हस्ताक्षर संकलन गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी होटल तथा विभिन्न कार्यस्थलमा कार्यरत नेपालीहरूलाई समेट्न सम्बन्धित स्थानका प्रतिनिधि तथा सम्पर्क व्यक्तिमार्फत हस्ताक्षर फाराम उपलब्ध गराउने कार्य पनि अगाडि बढाइएको छ।
यस अभियानप्रति साइप्रसस्थित विभिन्न नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, पत्रकार, व्यवसायी तथा समुदायका अग्रजहरूले ऐक्यबद्धता जनाउँदै आएका छन्। संस्थागत समर्थन बढ्दै जानुले अभियानलाई थप प्रभावकारी र सशक्त बनाएको अभियान पक्षको विश्वास छ।
नागरिक बोलीले साइप्रसमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई प्रत्यक्ष हस्ताक्षर वा अनलाइन माध्यमबाट अभियानमा सहभागी भई आफ्नो समर्थन जनाउन हार्दिक अनुरोध गरेको छ।
“हाम्रो आवाज, हाम्रो दूतावास।”
एक हस्ताक्षर, एक आवाज — नेपाली दूतावास हाम्रो अधिकार। ![]()