लिमासोल, साइप्रस । किरात याक्थुङ चुम्लुङ साइप्रसको आठौँ साधारणसभा तथा दोस्रो अधिवेशन तथा सि:सेक्पा तङ्नाम (येले तङ्वे–५०८६ / साउने सङ्क्रान्ति–२०८३) कार्यक्रम आइतबार, १९ जुलाई २०२६ का दिन लिमासोलस्थित मोलोस पार्क मा भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष चुमन्ता तुम्बापो लिम्बू को सभापतित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष धाता नन्द पाण्डे को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम तीन चरणमा सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन किरात समुदायको मौलिक केलाङ (च्याब्रुङ) प्रस्तुतीमार्फत गरिएको थियो।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष इन्द्रकला माबो लिम्बू (श्रद्धा) ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख सल्लाहकार शान्ता ताम्लिङ लिम्बू ले शुभकामना व्यक्त गर्दै सि:सेक्पा तङ्नामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे प्रकाश पार्नुभएको थियो।
प्रमुख अतिथि धाता नन्द पाण्डे ले प्रवासमा भाषा, संस्कृति, पहिचान तथा सामाजिक एकतालाई जोगाउन किरात याक्थुङ चुम्लुङजस्ता संस्थाहरूले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै संस्थाको भावी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
सोही अवसरमा संस्थाको आठौँ साधारणसभा सम्पन्न गर्दै २०२२–२०२६ कार्यकाल मा योगदान पुर्याउनु भएका कार्यसमिति, सल्लाहकार तथा सक्रिय सदस्यहरूलाई अध्यक्ष चुमन्ता तुम्बापो लिम्बू द्वारा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
त्यसपछि सम्पन्न दोस्रो अधिवेशन ले पुरानो कार्यसमिति तथा सल्लाहकार समितिलाई विधिवत् विघटन गर्दै २०२६–२०३० कार्यकाल का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रेश्मा लिम्बू चयन हुनुभएको छ। त्यसैगरी प्रथम उपाध्यक्षमा राम प्रसाद नेम्वाङ, उपाध्यक्षमा सुकमाया मेन्याङ्बो लिम्बू (युपनामा), सचिवमा लोकेन्द्र पालुङ्वा लिम्बू, सह-सचिवमा यमुना सम्बाहाम्फे, कोषाध्यक्षमा इन्द्रकला माबो लिम्बू (श्रद्धा) तथा सह-कोषाध्यक्षमा रनु सिङ्गक लिम्बू निर्वाचित हुनुभएको छ।
सदस्यहरूमा मनमाया काङ्भा लिम्बू, सुक्मिता सोदेम्बा लिम्बू, राजु आङ्देम्बे लिम्बू, बिष्णु साँवा लिम्बू, ख्याम साँवा लिम्बू, सोनु येक्तेन लिम्बू, अञ्जना केरुङ लिम्बू, मन्जु नेम्वाङ लिम्बू, कमला माबु लिम्बू, कौशिला देवान लिम्बू, दिपेन्द्र पालुङ्वा लिम्बू, मिङ्सो हाङ लावती लिम्बू, हेमराज इधिङ्गो लिम्बू, अमृता येक्तेन लिम्बू, मिनु मादेम्बा लिम्बू, भूमिका सिङ्गक लिम्बू, सङ्गीता थाक्सु लिम्बू, पवित्रा कुरुम्वाङ लिम्बू, तारा लावती लिम्बू, दिब्या यक्वा लिम्बू, सावित्रा लिम्बू तथा माया तुम्सा लिम्बू चयन हुनुभएको छ।
त्यसैगरी चुमन्ता तुम्बापो लिम्बू संरक्षक, शान्ता ताम्लिङ लिम्बू प्रमुख सल्लाहकार तथा गंगा कुरुम्वाङ लिम्बू सल्लाहकारमा चयन हुनुभएको छ।
कार्यक्रममा साइप्रसमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा साइप्रस नेपाल डट कम का सम्पादक समिम मिया, नागरिक बोली का संचालक राजाराम बस्नेत तथा न्युज लाइन नेपाल की यरोप संवाददाता मनिषा अर्याल लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
यसैगरी कार्यक्रमलाई सफल बनाउन निरन्तर सहयोग पुर्याउनु हुने बालकुमार यम्फु र अस्मिता तामाङ सहित सम्पूर्ण सहयोगीहरूलाई संस्थाले विशेष धन्यवाद ज्ञापन गरेको छ।
कार्यक्रममा कलाकारहरूले प्रस्तुत गरेको केलाङ (च्याब्रुङ) तथा यालाङ (धान नाच) ले सहभागीहरूलाई आकर्षित गरेको थियो। साथै सदस्य तथा शुभेच्छुकहरूले घरबाट ल्याएका परिकार, सामूहिक भेटघाट र शुभकामना आदानप्रदानले कार्यक्रमलाई अझ आत्मीय बनाएको थियो।
कार्यक्रमको समापनमा संस्थाका सचिव लोकेन्द्र पालुङ्वा लिम्बू ले सम्पूर्ण अतिथि, सहभागी, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी, विभिन्न संघ–संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाको अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।