काठमाडौं । पुस्तकालय परिचारक संगठन नेपाल (नासल नेपाल) को २७औँ वार्षिक साधारण सभा, पुस्तक लोकार्पण तथा नयाँ कार्यसमिति चयन कार्यक्रम शनिबार काठमाडौंस्थित केशर पुस्तकालयमा सम्पन्न भएको छ। विद्यालय पुस्तकालयको सुदृढीकरण, गुणस्तरीय शिक्षा तथा पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षा तथा पुस्तकालय क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले विद्यालय पुस्तकालयलाई गुणस्तरीय शिक्षाको अभिन्न आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै पुस्तकालयमैत्री शैक्षिक वातावरण निर्माणका लागि राज्य, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षक–पुस्तकालयकर्मीहरूको भूमिकालाई नीतिगत रूपमा थप सशक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
विशेष अतिथि शिक्षाविद् विद्यानाथ कोईरालाले विद्यालय पुस्तकालयलाई सिर्जनात्मक सिकाइ, अनुसन्धान र पठन संस्कृतिको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विद्यालय पुस्तकालयको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा नासल नेपालका जिल्ला पदाधिकारी, शिक्षक–पुस्तकालयकर्मी, शिक्षा तथा पुस्तकालय क्षेत्रका विभिन्न व्यक्तित्व, शिक्षाविद् तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै अवसरमा नासल नेपालकी संस्थापक तथा निवर्तमान अध्यक्ष *शारदा शिवाकोटीद्वारा लिखित *”Empowering Teacher-Librarian: School Library Policy & Practice”** पुस्तकको लोकार्पण तथा परिचर्चा कार्यक्रम पनि सम्पन्न गरिएको थियो। कार्यक्रममा वक्ताहरूले उक्त पुस्तक विद्यालय पुस्तकालयको नीति, अभ्यास तथा शिक्षक–पुस्तकालयकर्मीको व्यावसायिक विकासका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष शारदा शिवाकोटीले भावुक मन्तव्य व्यक्त गर्दै आफूले २७ वर्षको अथक मेहनत, समर्पण र निरन्तर संघर्षबाट स्थापना गरी जोगाउँदै आएको संस्थालाई अब सबै मिलेर अझ सशक्त बनाउनुपर्ने बताउनुभयो। विद्यालय पुस्तकालयको विकास, शिक्षक–पुस्तकालयकर्मीको पेशागत सशक्तीकरण तथा देशभर पठन संस्कृतिको विस्तारका लागि संस्थालाई जीवित, सक्रिय र प्रभावकारी बनाइराख्न सबै सदस्य तथा नयाँ नेतृत्व एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको आग्रह थियो। उहाँले संस्थाको उद्देश्य, गरिमा र अभियानलाई निरन्तरता दिँदै विद्यालय पुस्तकालय आन्दोलनलाई अझ उचाइमा पुर्याउन नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्नुभयो।
वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा नासल नेपालको नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा *यज्ञराज भट्ट, उपाध्यक्षमा **सुनिता पाण्डेय जोशी, महासचिवमा **कुमारी कमला राई, सचिवमा *कपिल केसी तथा कोषाध्यक्षमा जलकृष्ण श्रेष्ठ चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा *सरिता हुमागाईं, **अनिता भण्डारी, *लता अधिकारी तथा नारायणी अधिकारी चयन हुनुभएको छ। अन्य तीन जना सदस्य भने कार्यसमितिले पछि मनोनयन गर्ने निर्णय गरेको छ।
नवनिर्वाचित अध्यक्ष यज्ञराज भट्टले संस्थापक नेतृत्वले निर्माण गरेको बलियो जगलाई अझ सुदृढ बनाउँदै विद्यालय पुस्तकालयको विकास, शिक्षक–पुस्तकालयकर्मीहरूको क्षमता अभिवृद्धि, पठन संस्कृतिको प्रवर्द्धन तथा संगठनको देशव्यापी विस्तारलाई प्राथमिकतामा राखी सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा विद्यालय पुस्तकालयलाई गुणस्तरीय शिक्षाको अपरिहार्य अंगका रूपमा स्थापित गर्न सरकार, स्थानीय तह, विद्यालय, शिक्षक–पुस्तकालयकर्मी तथा सरोकारवालाबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। सहभागीहरूले नासल नेपालले विगत २७ वर्षदेखि विद्यालय पुस्तकालयको सुदृढीकरण, पठन संस्कृतिको प्रवर्द्धन र शिक्षक–पुस्तकालयकर्मीको व्यावसायिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै नयाँ नेतृत्वले संस्थाको अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।