माघ १३, काठमाडौँ
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संघले शुक्रबार शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।
शिक्षामन्त्री खनालले पदभार ग्रहण गरेपछि गरेको पहिलो निर्णय जनताका लागि श्राप भएको आरोप लगाउँदै विद्यार्थी संघका नेताहरुले शुक्रबार बिहान रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि जम्मा भएर शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका छन् ।
शिक्षामन्त्री खनालले कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेका थिए । निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्न दिएर घुस लिने निर्णय भएको आन्दोलनरत विद्यार्थी नेताहरूले आरोप लगाएका छन् । उनीहरुले यो निर्णयले धेरै विद्यार्थीलाई चर्को मूल्यमा किताब किन्न बाध्य हुने पनि बताए ।
शिक्षामन्त्रीको पुत्ला दहनपछि सञ्चारकर्मीसँग कुरा गर्दै विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले मन्त्री खनालले राज्यको स्वामित्वमा रहेको छपाई संस्थामा भएका अनियमितता हटाउनुको साटो निजी क्षेत्रलाई पुस्तक छाप्न दिएको आरोप लगाए । उनले शिक्षामन्त्रीले सार्वजनिक शिक्षा सामग्रीलाई बचाउनुको साटो नष्ट गरेको आरोप लगाए ।
अध्यक्ष पराजुलीले छोटो समयमै सरकार गठन हुनु गलत निर्णय भएको भन्दै यसलाई मान्न नसक्ने बताए । उनले सरकारी लगानीमा बनेका संस्थालाई निजीकरण गरेर दलाललाई दिने चक्रब्यत बनेको बताए । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले छानबिन गरी कारबाही र प्रणाली सुधार गर्नुको सट्टा निजी क्षेत्रलाई पुस्तक छाप्न दिएर कमिशन खाने खेल बनाएको बताए ।
अध्यक्ष पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेका मन्त्रीहरुलाई जनताबाट कमिशन लिएर वर्गीय रसायन नष्ट गरेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरे । उनले जनक शिक्षा सामग्री केन्द्रलाई मजबुत, सशक्त र गरिब जनताका बालबालिकालाई समयमै पुस्तक पुग्ने गरी काम गर्न आग्रह गरे ।

