कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

फागुन ९ , काठमाडौँ
सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएका आयोजना सम्पन्न नगरी काम नगर्ने पाँच निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कालोसूचीमा परेका कम्पनीहरुमा चितवन जिल्लाको भरतपुर–४ स्थित इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड मिन्ट क्राफ्ट प्रालि, जय गढीमाई कन्स्ट्रक्सन प्रालि, गुण कन्स्ट्रक्सन सेवा र कल्पना कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने मुडभरी र जोशी कन्स्ट्रक्सन प्रा. लि दुई वर्षको लागि। विकास श्रेष्ठले सञ्चालित इन्जिनियर्स कन्स्ट्रक्सनले चितवनको इच्छाकामना गाउँपालिकाको निर्माण छाडेको थियो भने चितवन जिल्लाको खैरहनी नगरपालिकाले सीताराम चौधरीले सञ्चालित जय गढीमाईलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । रसुवागढी जलविद्युत कम्पनीको निर्माणमा करणकुमार मुडभरीले सञ्चालित मुडभरी र जोशीले निर्माण रोकेका थिए । कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा रहेको गुणराज पाठकले सञ्चालित गुना कन्स्ट्रक्सनले निर्माण कार्य अलपत्र परेको थियो । त्यस्तै, बारबर्दिया नगरपालिकाले कल्पना कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ, ‘कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा नपरेको अवधिसम्म कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्,’ सूचनामा भनिएको छ ।

