साइप्रसमा साकेला उभौली पर्व भव्य रूपमा मनाइने, किराँती संस्कृति र नेपाली कला झल्किने विविध कार्यक्रमको तयारी

लिमासोल, साइप्रस —
साइप्रसस्थित किरात राई यायोक्खाले यस वर्ष पनि किराँती समुदायको राष्ट्रिय पर्व साकेला उभौली विशेष सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ। यही आगामी आइतबार, ११ मे, बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म लिमासोल-निकोसिया हाइवेमा अवस्थित Trikkis Palace Hall मा कार्यक्रम आयोजना गरिने संस्थाका अध्यक्ष नविन राईले जानकारी दिएका छन्।

यस वर्षको “साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम” मा ढोल झ्याम्टाको तालमा परम्परागत साकेला शिली नृत्य, किराँती सांस्कृतिक झाँकी, मौलिक नेपाली गीत–सङ्गीत तथा विभिन्न संघ–संस्थाका कलाकारहरूको प्रस्तुति समावेश गरिनेछ। साथै, सहभागीहरूले किराँती संस्कार र मौलिक खानाका परिकारहरूको स्वाद समेत लिन सक्नेछन्।

किरात राई यायोक्खा साइप्रसले नेपाली कला, संस्कृति, भाषा र पहिचानलाई प्रवासमा पनि जोगाउने उद्देश्यले सन् २०१७ देखि हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ। आयोजकका अनुसार, यस वर्षको कार्यक्रम पनि नेपाली समुदायबीच एकता, आपसी सञ्जाल र संस्कृति झल्काउने अवसरको रूपमा हुनेछ।

साइप्रसका विभिन्न प्रमुख शहरहरूबाट बस सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ भने कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क २० युरो तोकिएको छ।

आयोजक टिमले साइप्रसभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सभ्य र भव्य बनाउन हार्दिक अनुरोध समेत गरेका छन्।

“जहाँ रहे पनि आफ्ना भाषा, कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व हो,” आयोजकले भनेका छन्, “विदेशमा रहेर पनि हामी एकताबद्ध भई आफ्ना परम्परालाई जीवन्त राख्न प्रयासरत छौं।”

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर