माल्टा, २८ अगस्ट। नेपालमा हालैका प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि Nepalese Chef’s Society, Malta ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ६५ हजार सहयोग गरेको छ।
सोसाइटीका अनुसार €940 बराबरको उक्त रकम २८ अगस्ट २०२६ मा नेपालपे क्यूआरमार्फत दुई छुट्टाछुट्टै कारोबार गरी कोषमा जम्मा गरिएको हो। बैंकको भुक्तानी विवरणमा रु. १ लाख र रु. ६५ हजारका दुवै कारोबार सफल भएको उल्लेख छ।
कुल सहयोगमध्ये €572 सोसाइटीको संस्थागत कोषबाट र बाँकी €368 संस्थामा आबद्ध सेफहरूको व्यक्तिगत योगदानबाट संकलन गरिएको हो।
तीज कार्यक्रम स्थगित गरेर सहयोग
नेपालमा उत्पन्न दुःखद एवं संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सोसाइटीले यस वर्ष आयोजना गर्ने तयारी गरेको हरितालिका तीज विशेष कार्यक्रम स्थगित गरेको थियो।
सोसाइटीले २७ अगस्ट २०२६ मा आधिकारिक सूचना जारी गर्दै संस्थागत कोषबाट रु. १ लाख सहयोग गर्ने प्रारम्भिक निर्णय सार्वजनिक गरेको थियो। त्यसपछि इच्छुक सेफहरूको व्यक्तिगत योगदानसमेत थपिँदा कुल सहयोग रकम रु. १ लाख ६५ हजार पुगेको हो।
सोसाइटीले कार्यक्रम स्थगित गर्ने निर्णयलाई माल्टामा बसोबास गर्ने नेपाली समुदायले सहज रूपमा बुझ्ने र विपद्को समयमा नेपालप्रति ऐक्यबद्धता जनाउने विश्वाससमेत व्यक्त गरेको थियो।
सहयोग गर्ने सेफहरू
यस मानवीय अभियानमा वासुदेव भुसाल, अस्मिता राई, धुर्ब पाण्डे, दुर्गा केसी, एकराज पोखरेल, नारायण गिरी, सुन्दर घिमिरे, टंक लामा, शंकर भण्डारी, राकेश थापा, बसन्त बी. खत्री, शिव बी. महत, नरेश गुरुङ, सागर तामाङ र श्याम भण्डारीले व्यक्तिगत रूपमा योगदान गरेका छन्।
सोसाइटीले सहयोग गर्ने सम्पूर्ण सेफप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै यो सहायता विशुद्ध मानवीय सेवा र सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको जनाएको छ।
“विपद्को यस कठिन घडीमा प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हाम्रो साथ, सहयोग र ऐक्यबद्धता निरन्तर रहनेछ,” सोसाइटीले जनाएको छ।
संस्थाले प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कठिन समयमा नेपाली समुदायलाई एकजुट भएर मानवीय सहयोगमा अघि बढ्न आह्वान गरेको छ।
विदेशबाट पनि सहयोग गर्न सकिने
नेपालबाहिर रहेका व्यक्ति तथा संस्थाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक पोर्टल मार्फत सहयोग गर्न सक्छन्। उक्त अनलाइन गेटवेमा स्वदेशी तथा अन्तर्राष्ट्रिय डेबिट तथा क्रेडिट कार्डबाट रकम प्रदान गर्ने सुविधा उपलब्ध छ।
Nepalese Chef’s Society, Malta ले मानवीय सेवाप्रतिको प्रतिबद्धता दोहोर्याउँदै विपद् प्रभावित नेपालीहरूप्रति आफ्नो साथ र सहयोग निरन्तर रहने जनाएको छ।