नेपाली कांग्रेसले प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न सुझाव दिएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निश्कल राईले यस्ता संयन्त्रमा धार्मिक समुदाय, स्थानीय सरकार, सुरक्षा निकायको पनि प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।
‘यस्ता घटनापछि प्रधानमन्त्रीज्यूको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गरियोस्,’ उनले भने । उनले कुनै धर्म वा समुदायलाई सामूहिक शंकाका रूपमा हेर्न नहुने र सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूमाथि कारबाही गरिनुपर्ने पनि बताए ।
यस्ता घटनाहरूमा सरकारले गरेका सहमति, तिनको संवैधानिक आधारसहित कार्यान्वयन प्रक्रियाबारे सदनमा जानकारी दिइनुपर्ने उनले बताए । संवेदनशील निर्णयहरू राष्ट्रिय संवादबाट गर्न पनि उनले आग्रह गरेका थिए ।
‘असहमति निषेध गरेर एकता कायम गर्न सकिँदैन, विश्वासले दिगो समाधान दिन सक्छ,’ उनले भने ।
सचेतक राईले यस्ता संवेदनशील मुद्दामा सरकारले सबै नागरिकको साझा अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।