पाफोस, साइप्रस। नेपालमा आएको भीषण बाढी तथा विपत्तिमा परी ज्यान गुमाएका मृतकहरूको चिरशान्तिको कामना गर्दै साइप्रसको पाफोसस्थित सिता पार्कमा आइतबार, अगस्ट ३० तारिख श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
लामा अपार्ट पाफोसको आयोजनामा भएको कार्यक्रममा साइप्रसमा रहेका नेपालीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बाढी तथा विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा नेपालमा बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत सहयोगसमेत संकलन गरिएको थियो।
लामा अपार्टका सञ्चालक सुवास लामाले जानकारी दिएअनुसार, श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा सहभागी व्यक्तिहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको २३० युरो अर्थात् नेपाली रुपैयाँ ४० हजार ४८० नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ।
उक्त रकम कार्यक्रममा सहभागी २० जनाबाट संकलन गरिएको हो। सहयोग गर्नेहरूमा गौरी राई, रोजिना मोकतान, नानु शेर्पा, निरु श्रेष्ठ, मिनु मगर, बिमा रोक्का, प्रेम कुमारी, के.बी. थापा, बेली गौतम, छिरिङ कान्छु शेर्पा, भाबी माया राई, भगवती गुरुङ, मिलन आले मगर, टिका आले मगर, अस्मिता थापा, शाबित्री गौतम, पियुष लामा नेगी, सुनिता श्रेष्ठ, लिम लामु शेर्पा र केन्जु लामा रहेका छन्।
सहयोग रकममध्ये छिरिङ कान्छु शेर्पाले ५० युरो, प्रेम कुमारी, के.बी. थापा र पियुष लामा नेगीले २०/२० युरो, केही सहभागीहरूले १०/१० युरो तथा अन्य सहभागीहरूले ५/५ युरो सहयोग गरेका थिए। यसरी संकलित सम्पूर्ण रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
सञ्चालक सुवास लामाका अनुसार, मातृभूमिमा परेको विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विदेशमा रहे पनि नेपालमा परेको दुःखमा नेपाली समुदायले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ राहत रकम संकलन गरिएको उनले बताए।
यसैबीच, साइप्रसका विभिन्न सहरमा पनि अगस्ट ३० तारिख साँझ नेपालमा बाढी तथा विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। नेपाली समुदायले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।