रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको २ लाख ५९ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा परिवारहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली सेफ सोसाइटीले रु. २ लाख ५९ हजार २८७ आर्थिक सहयोग गरेको छ।

नेपाली सेफ सोसाइटी केन्द्र तथा सोसाइटीमा आबद्ध सदस्यहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको सोसाइटीले जनाएको छ।

नेपाली सेफ सोसाइटीको सञ्जाल हाल विश्वका ४५ वटा देशमा विस्तार भइसकेको छ। विभिन्न देशमा रहेका नेपाली सेफ सोसाइटीका शाखा तथा कमिटीहरूले पनि रसुवा बाढीपीडितका लागि आ–आफ्नो तर्फबाट सहयोग जुटाउने क्रम जारी राखेका छन्।

सोसाइटीका अनुसार, केही देशका कमिटीहरूबाट सहयोग रकम आइसकेको छ भने अन्य देशमा रहेका नेपाली सेफ सोसाइटीका टिमहरूले पनि आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमै रकम जम्मा गर्ने क्रम जारी राखेका छन्। विभिन्न देशका कमिटीहरूले समन्वय गर्दै सहयोग अभियानलाई निरन्तरता दिइरहेका छन्।

देश तथा विदेशमा कार्यरत नेपाली सेफहरू विपद्को समयमा एकजुट भएर सहयोगमा जुट्नुले नेपाली सेफ समुदायबीचको सामाजिक एकता र मानवीय भावनालाई थप मजबुत बनाएको सोसाइटीले जनाएको छ।

नेपाली सेफ सोसाइटीका केन्द्रीय कोषाध्यक्ष विष्णु खत्रीका अनुसार विपद्मा परेका नेपाली नागरिकको पीडामा साथ दिनु संस्थाको मानवीय तथा सामाजिक दायित्व हो। रसुवा बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आगामी दिनमा पनि सहयोगको क्रमलाई निरन्तरता दिइने उनले बताए।

“विपद्मा परेका नागरिकको पीडामा साथ दिनु नै हाम्रो मानवीय दायित्व हो,” खत्रीले भने।

नेपाली सेफ सोसाइटीले रसुवा बाढीपीडितको उद्धार तथा राहतका लागि सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत अपिल गरेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर