पानीट्यांकी युवा समाजद्वारा विशेष ‘भोजन सेवा’ कार्यक्रम आयोजना हुँदै

काठमाडौं । पानीट्यांकी युवा समाजले आश्रममा आश्रित ज्येष्ठ नागरिक, द्वन्द्वपीडित तथा अपाङ्गता भएका व्यक्तिहरूसँग खुसी, माया र आत्मीयता साटासाट गर्ने उद्देश्यले विशेष ‘भोजन सेवा’ कार्यक्रम आयोजना गर्ने भएको छ।

कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसर पारेर समाजले मिष्ठान्न भोजन तथा दर खुवाउने कार्यक्रम आयोजना गर्न लागेको हो। समाजका अनुसार पर्वको अवसरमा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा विभिन्न कारणले सहारा आवश्यक परेका व्यक्तिहरूलाई आफ्नै परिवार सम्झेर सम्मान, माया र आत्मीयता प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष उमेश सापकोटाले जानकारी दिए ।

समाजले आयोजना गर्ने पहिलो कार्यक्रम २०८३ साल भदौ २६ गते शुक्रबार बेलुका ५ बजे द्वन्द्व पीडित तथा अपाङ्ग समाज नेपाल, सलम्बुटार, साँखुमा हुनेछ।

त्यसैगरी दोस्रो कार्यक्रम २०८३ साल भदौ २७ गते शनिबार बिहान ९ बजे मानव कल्याण सेवा समाज, झौखेल, भक्तपुरमा आयोजना गरिनेछ।

पानीट्यांकी युवा समाजले उक्त मानवीय सेवाकार्यमा सहयोगी मनहरूबाट सहयोग, सहभागिता र सद्भावको अपेक्षा गरेको जनाएको छ। समाजले सानो सहयोगले पनि आश्रममा आश्रित व्यक्तिहरूको जीवनमा ठूलो खुसी ल्याउन सक्ने भन्दै सबैलाई सामाजिक सेवामा जोडिन आह्वान गरेको छ।

‘खुसी बाँडौँ, माया बाँडौँ, सेवा गरौँ’ भन्ने भावनाका साथ आयोजना गर्न लागिएको कार्यक्रमले पर्वलाई केवल उत्सवका रूपमा नभई मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्ने अपेक्षा गरिएको छ।

पानीट्यांकी युवा समाज परिवारले ‘सानो सहयोग, ठूलो खुसी’‘सेवा नै धर्म हो’ भन्ने सन्देशसहित कार्यक्रम सफल बनाउन सबै सहयोगी हातहरूलाई साथ दिन आग्रह गरेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर