काठमाडौँ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (अस्कर)का लागि नेपालको तर्फबाट चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ छनोट भएको छ ।
अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धाका लागि नेपालस्थित अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिमा दुई नेपाली कथानक चलचित्र प्राप्त भएका थिए । समितिमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ र ‘गौंथली’ प्राप्त भएका हुन् ।
दुवै चलचित्रको मूल्याङ्कनपछि समितिले एकेडेमीका मापदण्डअनुसार नेपालको प्रतिनिधित्व गर्ने चलचित्रका रूपमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ छनोट गरेको हो ।
समितिले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा कलात्मक शिल्पलगायत पक्षलाई आधार बनाएर गहन अध्ययनपछि चलचित्र छनोट गरिएको जनाएको छ ।
समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माल आइतबार विज्ञप्ति जारी गरी उक्त चलचित्रलाई ९९औँ एकेडेमी अवार्डमा नेपालको तर्फबाट प्रतिस्पर्धीका रूपमा सिफारिस गरिएको जनाएका छन् ।
समितिका सदस्यमा लोकेन्द्र पराजुली ‘कपिल’, गौतम ढिमाल, जीवनकुमार पराजुली र विकास सुवेदी रहेका छन् ।