गण्डकी । आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल/रेष्टुराँमा छुट सुविधा दिइएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु÷पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।
बुधबार साँझ पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुका लागि एक रातका लागि बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको उनको भनाइ छ । पहिलो चरणमा तीन महिनाका लागि छुट योजना ल्याए पनि पछि थप हुनसक्ने अध्यक्ष सुवेदीले बताए ।
रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँहरुमा १५ देखि २० प्रतिशतसम्म छुट दिइने जनाएको छ । ‘रेवान’का अध्यक्ष वसन्त गौतमले फ्लाई दुबईको ‘बोडिङ पास’ लिएर आउने यात्रु÷पर्यटकलाई छुटको सुविधा दिइने बताए । “तीन महिनासम्म छुट योजना लागू हुन्छ, पछि परिस्थिति हेरेर थप्न पनि सकिन्छ”, उनले भने, “पोखराबाट हुन लागेको फ्लाई दुबईको उडानलाई दिगो र सफल बनाउन सबैको हातेमालो चाहिन्छ ।”
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखराका अन्य पर्यटन व्यवसायीले पनि फ्लाई दुबईको उडानलाई लक्ष्य गरेर छुट योजना ल्याउन लागेको बताए ।
पोखरा पर्यटन परिषद्, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाहरुले पनि यसमा सक्रियता बढाएका छन् । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान गर्न लागेको हो ।
दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । उडान तालिकाअनुसार दुबईदेखि उडेको जहाज बुधबार साँझ साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । पोखराबाट यात्रु लिएर सोही दिन साँझ ७ः१५ बजे उक्त जहाज दुबईका लागि उड्ने विमानस्थलका सूचना अधिकारी विनोदसिँह रावतले जानकारी दिए ।
फ्लाई दुबईको 737 र MAX 8 / MAX 9 ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए । उक्त जहाजमा एक सय ३८ देखि एक सय ८९ सम्म यात्रु क्षमता रहेको उनको भनाइ छ । फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको सूचना अधिकारी रावतले बताए ।
विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ । विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ । फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने जनाइएको छ ।
एयरलाइन्सहरुबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने जनाइएको छ । पोखरादेखि दुबईहुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्नेछन् । लामो प्रतीक्षापछि पोखराबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यस क्षेत्रका पर्यटन व्यवसायीलगायत उत्साहित छन् ।
पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडानबाट मुलुककै पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिनेछ । यस उडानलाई दिगो रुपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्द्धनमा सरकारी निकाय र निजी क्षेत्रबाट पहल हुँदै आएको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।