निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था साइप्रस नेपाली सङ्गतिले नेपालका बाढीपीडितको उद्धार तथा राहतका लागि २ लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सङ्गतिमा आबद्ध सदस्यहरूबाट संकलन गरिएको उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो।
साइप्रस नेपाली सङ्गतिकी कोषाध्यक्ष उमा केसीका अनुसार प्रवासमा रहेका नेपाली सदस्यहरूको सामूहिक प्रयास र ऐक्यबद्धताबाट उक्त रकम संकलन गरिएको हो। संकलित रकम आवश्यक प्रक्रियामार्फत नेपाल पठाइएको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, सङ्गतिकी अगुवा माला श्रेष्ठले देशमा आइपर्ने हरेक विपत्ति र कठिन परिस्थितिमा नेपाली इसाई समुदायले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको बताउनुभयो।
“देशका लागि निरन्तर प्रार्थनासँगै आफ्नै सानो प्रयासबाट सहयोग रकम पठाउन पाउँदा सम्पूर्ण सङ्गति परिवार भावुक र खुसी छौँ,” श्रेष्ठले भन्नुभयो।
बाढी तथा प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले सहयोग गरिरहेका छन्। यही क्रममा साइप्रसमा रहेका नेपाली इसाई समुदायले पनि सामूहिक रूपमा राहत कोषमा सहयोग गरेको हो।
सङ्गतिका प्रतिनिधिहरूले विपत्तिको समयमा समुदाय, धर्म तथा अन्य सामाजिक पहिचानभन्दा माथि उठेर मानवीय सहयोग र सद्भावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। यस्ता सामाजिक कार्यले नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सद्भावलाई थप बलियो बनाउने विश्वाससमेत उनीहरूले व्यक्त गरेका छन्।