धम्माकाया फाउन्डेसन र UG5 नेपालबीच औपचारिक सहकार्य

काठमाडौं । थाइल्यान्डको धम्माकाया फाउन्डेसन र नेपालस्थित युनिभर्सल गुड्नेस अर्गनाइजेसन (UG5 नेपाल) बीच नैतिक शिक्षा, चरित्र विकास तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धनका क्षेत्रमा औपचारिक सहकार्य सुरु भएको छ।

दुवै संस्थाले नेपालभर युनिभर्सल गुड्नेस–५ (UG5) अवधारणालाई प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित दीर्घकालीन सहकार्यको आधार तयार गरेका हुन्। यसका लागि UG5 नेपालका अध्यक्ष राकेश महर्जनको पहलमा प्रस्तुत प्रस्ताव धम्माकाया फाउन्डेसनको अन्तर्राष्ट्रिय सम्बन्ध विभागबाट स्वीकृत भएको जनाइएको छ।

धम्माकाया फाउन्डेसनको सहयोगमा नेपालमा विगत करिब एक दशकदेखि UG5 अभियानअन्तर्गत नैतिक शिक्षा, अनुशासन, सकारात्मक जीवनशैली र चरित्र निर्माणसँग सम्बन्धित तालिम, कार्यशाला तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस वर्ष युनिभर्सल गुड्नेस अर्गनाइजेसन नेपाल औपचारिक रूपमा दर्ता भएपछि दुवै संस्थाबीचको सहकार्यलाई संस्थागत स्वरूप दिइएको हो।

समझदारीअनुसार UG5 सम्बन्धी कार्यक्रमको विस्तार, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संस्था र स्थानीय तहसँग सहकार्य अभिवृद्धि, परामर्श सेवा उपलब्ध गराउने तथा संस्थागत क्षमता विकासका क्षेत्रमा संयुक्त रूपमा काम गरिनेछ।

यस्तै, समुदाय र स्थानीय सरकारसँगको साझेदारीमा UG5 प्रशिक्षण केन्द्र स्थापना तथा सञ्चालन, आवश्यक पूर्वाधार विकास, ज्ञान र अनुभव आदानप्रदान तथा नियमित भ्रमण र प्रतिनिधिमण्डल आदानप्रदान गर्ने विषयमा पनि सहमति भएको छ।

दुवै संस्थाले यो सहकार्यबाट नेपालमा नैतिक शिक्षा, चरित्र निर्माण र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै विद्यालय, समुदाय र स्थानीय तहसम्म UG5 अभियानलाई थप प्रभावकारी रूपमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर