क्रोएसिया । क्रोएसियामा ‘गौरा पर्व विशेष रात्रिकालिन सांगीतिक कार्यक्रम २०२६’ आयोजना हुने भएको छ । सुदूरपश्चिमेली नेपाली समाज, क्रोएसियाको आयोजनामा गौरा पर्व–२०२६ को अवसर पारेर विशेष सांगीतिक साँझ आयोजनामा हुन लागेको हो ।
कार्यक्रम आगामी १३ सेप्टेम्बरमा जाग्रेबस्थित‘Boogaloo Club’ (Ul. grada Vukovara 68) मा दिउँसो २:०० बजेदेखि सुरु हुने सुदूरपश्चिमेली समाज क्रोएसियाका अध्यक्ष चेतन बीसीले जानकारी दिए । अध्यक्ष बीसीका अनुसार कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नेपालबाट चर्चित गायक तथा संगीतकार नवीन के.भट्टराईलाई आमन्त्रण गरिएको छ ।
गौरा पर्वको सांस्कृतिक र धार्मिक महत्त्वलाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा गायक नवीन के भट्टराईले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् । यस कार्यक्रम नेपाली कला, संस्कृति र संगीतप्रेमीका लागि अविस्मरणीय सांगीतिक उत्सव बन्ने आयोजकको विश्वास छ ।
सुदूरपश्चिमेली नेपाली समाज, क्रोएसियाले क्रोएसियामा रहेका सम्पूर्ण नेपालीसँग सहभागी भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक आग्रह गरेको छ । आयोजकका अनुसार नेपालबाट क्रोएसिया पुगेका नेपालीहरूलाई समेट्दै आफ्नै संस्कृति, मौलिकता र सांगीतिक उल्लास साटासाट गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमसम्बन्धी थप जानकारी तथा टिकटका लागि आयोजक टोलीसँग प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ ।
स्थापनाकालदेखि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सुदूरपश्चिमेली समाज क्रोएसियाले प्रत्येक वर्ष गौरा पर्व मनाउँदै आएको छ ।