अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको महाधिवेशन काठमाडौँमा हुने : साइप्रसबाट समीर गिरीको प्रतिनिधित्व


लिमासोल, साइप्रस –

अन्तर्राष्ट्रिय नेपाली सेफ समाज (International Nepali Chef Society – INCS) द्वारा आगामी २०८२ साल वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको भव्य महाधिवेशनमा सहभागी हुन समीर गिरी, INCS साइप्रस शाखाका आधिकारिक प्रतिनिधिका रूपमा नेपाल प्रस्थान गरेका छन्।

सन् २०२५ को यो महाधिवेशनमा विश्वभरिबाट ५,००० भन्दा बढी नेपाली सेफहरूको सहभागिता अपेक्षित छ। पाककला क्षेत्रको इतिहासमा एक ऐतिहासिक जमघटको रूपमा लिइएको यो सम्मेलनले नेपाली सेफहरूको ज्ञान, सीप र अनुभवको आदान–प्रदानका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास गरिएको छ।

तस्बिर : INCS साईप्रसको टोलीद्वारा बिदाई गरिदै

समीर गिरीको सहभागिता केवल प्रतिनिधित्वमा सीमित छैन। उनी नेपाली परिकारहरूको प्रवर्द्धन गर्ने उद्देश्यले एक विशेष “Nepali Food Stall” को सञ्चालनमा समेत संलग्न हुने कार्यक्रम रहेको छ। उक्त स्टलमार्फत नेपाली परम्परागत तथा आधुनिक परिकारहरू प्रस्तुत गरी नेपालको स्वाद अन्तर्राष्ट्रिय सेफ समुदायसमक्ष चिनाउने प्रयास गरिनेछ।

समीर गिरी विगत केही वर्षदेखि साइप्रसमा रही नेपाली पाककला प्रवर्द्धनमा क्रियाशील रहँदै आएका छन्। उनले स्थानीय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै नेपाली खाना र संस्कृति दुवैको प्रचारप्रसारमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्। यही सक्रियता र योगदानलाई ध्यानमा राखी INCS साइप्रस शाखाले उनलाई प्रतिनिधित्वका लागि चयन गरेको हो।

साइप्रसस्थित नेपाली समुदाय र INCS साइप्रस शाखा दुवैले समीर गिरीप्रति पूर्ण विश्वास व्यक्त गर्दै उनको सफल प्रतिनिधित्वका लागि शुभकामना व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान सशक्त बनाउने अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता समेत जनाइएको छ।

INCS को यो ऐतिहासिक सम्मेलनले भविष्यमा नेपाली सेफहरूका लागि अन्तर्राष्ट्रिय अवसरहरूको ढोका खोल्ने, नेपाली खानालाई विश्वका प्रमुख मञ्चहरूमा पुर्‍याउने तथा नेपालको समृद्ध पाक सम्पदाको वैश्विक महत्व उजागर गर्ने दिशामा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर