नागरिक बोली संवाददाता
बेलायत – नेपाली सामाजिक अभियन्ता तथा युवाका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित विप्लव खड्का हाल बेलायतको प्रतिष्ठित कोभेन्ट्री विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनरत छन्। शैक्षिक यात्रासँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सक्रिय खड्काले अनुशासन, नेतृत्व क्षमता, शैक्षिक उत्कृष्टता तथा सामाजिक सेवामा पुर्याएको योगदानका आधारमा सन् २०२४–२५ को ‘स्टुडेन्ट अफ दि इयर’ (Student of the Year) उपाधि प्राप्त गर्न सफल भएका छन्।

प्रत्येक वर्ष कोभेन्ट्री विश्वविद्यालयद्वारा प्रदान गरिने यस सम्मानले शैक्षिक तथा सामाजिक क्षेत्रका उत्कृष्ट योगदानकर्तालाई उच्च मूल्यांकन गर्दै प्रदान गरिन्छ। खड्काले शैक्षिक सफलताका साथै विश्वविद्यालय भित्र र बाहिर विविध सामाजिक कार्यक्रमहरू, नेतृत्वदायी पहलहरू तथा सामुदायिक सेवामा उल्लेखनीय सक्रियता जनाएका छन्।
खासगरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हक र हितको पक्षमा आवाज उठाउनु, विविधता र समावेशिताको प्रवर्द्धन गर्नु, मानसिक स्वास्थ्यसम्बन्धी चेतना फैलाउनु जस्ता विषयहरूमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। विश्वविद्यालयमा अध्ययनरत विभिन्न देशका विद्यार्थीहरूबीच सहकार्य र सद्भाव बढाउन उनले गरेका प्रयासहरूलाई विश्वविद्यालय प्रशासनले अत्यन्त सराहना गरेको छ।
नेपालमा रहँदा पनि खड्का शिक्षा, वातावरण, मानवअधिकार तथा युवा अभियानहरूमा सक्रिय रहँदै सामाजिक परिवर्तनका पक्षमा क्रियाशील थिए। उनले सोही प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा निरन्तरता दिँदै आएका छन्, जसको प्रतिफलस्वरूप उनलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
खड्काको यस उपलब्धिले नेपाल र नेपाली समुदायलाई मात्र होइन, विश्वभरिका नेपाली विद्यार्थीहरूलाई समेत गर्वको अनुभूति गराएको छ। अध्ययनसँगै समाजमा योगदान पुर्याउने सोचले अघि बढ्दा नेपाली युवाहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि प्रभावशाली उपस्थिति जनाउन सक्छन् भन्ने प्रेरणादायी उदाहरण खड्काले प्रस्तुत गरेका छन्।
सम्मान प्राप्त गरेपछि प्रतिक्रिया दिँदै उनले भने, “यो सम्मान मेरो मात्र होइन, मेरो देश, मेरो समुदाय, र ती सम्पूर्ण युवाहरूको हो, जो आफ्ना सपना साकार पार्न अहोरात्र परिश्रम गरिरहेका छन्। म विश्वास दिलाउँछु, आगामी दिनमा पनि यस सम्मानलाई सार्थक बनाउँदै विश्व समुदायमा नेपाल र नेपालीको पहिचान अझ प्रस्ट रूपमा प्रस्तुत गर्न समर्पित रहनेछु।”
उनको यो सफल यात्राले नेपाली युवामा आत्मविश्वास, उत्साह र समर्पणको भावना अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।
थप तस्बिरहरु:




