नेम्बाङले आज दिउँसो बसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेर रास्वपा सभापति रवि लामिछानेसहित रास्वपाका नेताहरुसँग छलफल गरेका थिए ।

काठमाडौं, फागुन २०
नेकपा (एमाले)का राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ आज विभिन्न दलका कार्यालयमा पुगेर भोट मागेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल छन्, जसलाई आठ दलको नयाँ गठबन्धनले समर्थन गरेको छ । नेम्बाङले आज दिउँसो बसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेर रास्वपा सभापति रवि लामिछानेसहित रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेम्बाङलाई रास्वपाले भोट दिने प्रबल सम्भावना रहेको बताए ।बैठकमा एमालेका प्रतिनिधिले नेम्बाङलाई सहयोग गर्न रास्वपा सभापतिलाई आग्रह गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले जानकारी दिए । त्यसपछि आन्तरिक छलफल हुन्छ । उनले भने, ‘पार्टीले निर्णय गर्न बाँकी छ । नेम्वाङ सभापतिका लागि उपयुक्त उम्मेदवार हुन् भन्नेमा कुनै शंका छैन तर आज निर्णय हुन सक्दैन । केन्द्रीय समितिको बैठकमा राख्छौँ । संसदीय दलले निर्णय गर्छ, त्यहीँ निर्णय हुन्छ ।” नेम्बाङ आफ्नो पार्टीका नेताहरूसँग भोटको अपिल गर्न धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय पनि पुगेका थिए ।
उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर भोट मागेका थिए ।भेटपछि राप्रपा नेता प्रकाशचन्द्र लोहनीले वार्तालाप सौहार्दपूर्ण रुपमा भएको बताए । उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई भोट दिने भन्ने टुंगो यही चैत २३ गते केन्द्रीय कार्यसमितिको बैठकले गर्ने बताए ।
आज राष्ट्रपतिका लागि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले आठ दलीय गठबन्धनलाई पत्र लेखेर भोट मागेको हो । ‘सबै धर्म, संस्कृति, जाति, वर्ग, लिङ्ग र समुदायको अधिकार प्रत्याभूति गर्ने संविधानको मर्म र भावनालाई आत्मसात गर्दै परिवर्तन गर्ने संकल्पका साथ राष्ट्रपतिको उम्मेदवार बनेको छु’ उनले पत्रमा उल्लेख गरेका छन् । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पौडेलको जित सुनिश्चित भएको दाबी गर्दै उनले भने, ‘रामचन्द्र पौडेलले राष्ट्रपतिको गरिमा कायम राखेर संविधानको संरक्षक भएर काम गर्ने र संविधानलाई अक्षुण्ण राख्ने वाचा गरेका छन् । बहुमतका साथ निर्वाचनमा विजयी हुने निश्चित छ ।” राष्ट्रपतिले देशको संरक्षक र संविधानको रक्षकको भूमिका निर्वाह गर्दा विगतका कमजोरीहरू हटाउने र सरकार वा संसदको काममा हस्तक्षेप नगर्ने विश्वास लिएको प्रदीप पौडेलले बताए ।
यसअघि नेम्वाङले नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा गएर भोट मागेका थिए । तर, पार्टीले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई भोट दिने निर्णय भइसकेको बताएको छ । आठ दलको गठबन्धनले रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरिसकेको छ । कांग्रेस उम्मेदवार पौडेलले पनि डिल्लीबजारस्थित केन्द्रीय कारागारमा रहेका रेशम चौधरीलाई भेटेर भोट मागेका छन् । चौधरीले आफू र आफ्नो पार्टी नागरिक उन्मुक्ति पार्टी रिहा नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

