२५ फागुन, काठमाडौं ।

सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजतन्त्र पुनःस्थापना हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन्।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो गतिविधिलाई ‘आफ्नो मर्यादा बिर्सिएको’ भनी टिप्पणी गरे।
‘म पुनः फर्कन्छु भन्ने किसिमका गतिविधि गरिनु आफैंमा हैसियत बिर्सिएको संकेत हो,’ उनले भने।
साथै, उनले आफ्नै संस्था र परिवारको रक्षा गर्न असक्षम व्यक्ति देशको रक्षा गर्न सक्षम नहुने जिकिर गरे।
‘हामीले दिएको उदार लोकतान्त्रिक व्यवस्था नै बिर्सिएको देखिन्छ। राजा कसरी देश बचाउँछ? विश्वका कुन देशमा राजाले राष्ट्रको रक्षा गरेको छ?’ उनले प्रश्न गर्दै भने, ‘आफ्नै सुरक्षाको चिन्ता गर्ने राजा, आफ्नै दरबार जोगाउन नसक्ने राजतन्त्र, परिवारको रक्षा गर्न असक्षम राजसंस्था! जहाँ न त मेरिटोक्रेसी हुन्छ, न त प्रतिस्पर्धाको कुनै स्थान।’
उनले थपे, ‘सिर्फ एउटा कुलमा जन्मिएको आधारमा कसैले तीन करोड नेपालीहरूभन्दा श्रेष्ठ ठहरिनु पर्ने? हामी त्यस्तो शासन व्यवस्थामा बाँधिन बाध्य पारिनु पर्ने? राजसंस्थाका समर्थकहरू सक्रिय हुँदैमा राजतन्त्र फर्किन्छ भन्ने छैन।’

