साइप्रसमा कार्यरत नेपाली श्रमिकका समस्याबारे ज्ञापनपत्र

दूतावासका कार्यवाहक राजदूत समक्ष विभिन्न संस्थाका टोलीद्वारा गम्भीर ध्यानाकर्षण

लिमासोल, साइप्रस। साइप्रसमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका शोषण, अनियमितता र कानुनी संरक्षणको अभावलाई लिएर यहाँका विभिन्न नेपाली समाज संस्थाका पदाधिकारीहरूले संयुक्त रूपमा कार्यवाहक राजदूत श्री कुमार बहादुर श्रेष्ठ समक्ष एक ज्ञापनपत्र बुझाएका छन्।

श्रमिकको अधिकार, सुरक्षा र मर्यादा सुनिश्चित गर्ने उद्देश्यसहित गरिएको भेटवार्तामा सो टोलीका अगुवाहरूले बढ्दो अन्याय र ठगीका घटनामाथि तत्काल दूतावासको सक्रिय हस्तक्षेप माग गरेका छन्।

यस भेटघाटमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस (INCS), चितवन सेवा समाज साइप्रस र हेल्पिङ ह्यान्ड्स साइप्रसका व्यक्तिहरू सहभागी थिए।

ज्ञापनपत्रमा उठाइएका मुख्य समस्याहरू:

१. ‘रिलिज पेपर’को दुरुपयोग र संगठित ठगी

  • नेपालका म्यानपावर र साइप्रसका एजेन्टको अवैध कमिसन कारोबारका कारण श्रमिकहरू दोहोरो शोषणमा।
  • ठूलो रकम तिरेर आएका कामदारलाई २–३ महिनामै ‘अकारण’ रिलिज पेपर दिएर कामबाट निकाल्ने र नयाँ कामदार ल्याउने संगठित ठगी बढेको।
  • बेरोजगार बनेका श्रमिकहरू आर्थिक र कानुनी संकटमा परेकाले यस्तो ठगी रोक्न नेपाल र साइप्रस सरकारबीच दूतावासमार्फत प्रभावकारी समन्वयको माग।

२. कार्यस्थलमा सम्झौता उल्लंघन र स्वतन्त्रतामाथि हस्तक्षेप

  • धेरै श्रमिकले सम्झौताभन्दा कम तलब र नियमभन्दा बढी समय काम गर्नुपरेको।
  • अधिकांश रोजगारदाताले नेपाली श्रमिकको राहदानी (Passport) रोक्का राख्ने गरेको, जुन श्रमिकको व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप र गैरकानुनी कार्य हो।
  • यस्ता उजुरीहरू छिटो, गोप्य र प्रभावकारी रूपमा दर्ता गर्ने संयन्त्र दूतावासमा निर्माण गर्न आग्रह।

३. आपतकालीन अवस्थामा सरकारी सहयोगको अभाव

  • दुर्घटना, गम्भीर चोटपटक, मानसिक समस्या वा आत्महत्याजस्ता संवेदनशील घटनामा पीडित श्रमिक वा परिवारले तत्काल सहयोग पाउन नसकेको गुनासो।
  • उपचार, कानुनी सल्लाह र क्षतिपूर्तिको प्रक्रिया अस्पष्ट रहेको।
  • यसका लागि दूतावास स्तरमै ‘आपतकालीन कोष तथा सहयोग संयन्त्र’ स्थापना गर्न जोडदार माग।

‘होलिडे पेपर’बारे अन्योल र राजदूतको प्रतिबद्धता

  • भेटमा श्रमिकहरूबीच ‘होलिडे पेपर’ आवश्यक छ कि छैन भन्ने अन्योलबारे पनि छलफल भयो।
  • टोलीका सदस्यहरूले अनावश्यक झन्झट र सम्भावित दुरुपयोग झेलिरहेको भन्दै स्पष्ट आधिकारिक जानकारी माग गरे।
  • जवाफमा कार्यवाहक राजदूत श्रेष्ठले तत्काल श्रम तथा वैदेशिक रोजगार विभागसँग प्रक्रिया बुझी ‘होलिडे पेपर’का बारेमा औपचारिक र प्रस्ट सूचना श्रमिकलाई उपलब्ध गराइने प्रतिबद्धता जनाए।

राजदूतको प्रतिक्रिया:

सो टोलीका मागहरूलाई गम्भीरतापूर्वक सुन्दै राजदूत श्रेष्ठले साइप्रसस्थित नेपाली श्रमिकको सुरक्षा, अधिकार र मर्यादा दूतावासको उच्च प्राथमिकतामा रहेको बताए। उनले स्थानीय श्रम निकायसँग निरन्तर संवाद गरी शोषणका क्रियाकलाप रोक्न दूतावास सक्रिय रूपमा लाग्ने आश्वासन दिए।


सहभागी पदाधिकारीहरू:

  • बलराम खतिवडा, उपाध्यक्ष – अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस
  • नवीन चौलागाईं, सचिव –अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस
  • हरिराम घिमिरे, सल्लाहकार – अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस
  • सुशील कुमार पोखरेल, सचिव – चितवन सेवा समाज साइप्रस
  • नामछुङ शेर्पा, प्रतिनिधि – हेल्पिङ ह्यान्ड्स साइप्रस

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर