साइप्रसमा शान्तिश्री परियारको तिहार विशेष सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

निकोसिया, साइप्रस। साइप्रसमा चर्चित नेपाली लोक तथा दोहोरी गायिका शान्तिश्री परियारको तिहार विशेष सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

निकोसियामा रहेको नेपाली युवाहरूको संस्था निकोसिया युथको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा साइप्रसका विभिन्न सहरबाट नेपाली दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

निकोसियास्थित पेभिलियन हलमा आयोजित कार्यक्रममा गायिका शान्तिश्री परियारले आफ्ना चर्चित गीतहरू ‘अरेली काँडैले’, ‘गलबन्दी’, ‘रुकुमैकोट’, ‘गोर्खे खुकुरी’ लगायतका गीत प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिन्। उनका लोकप्रिय गीतमा दर्शकहरू झुम्दै नाच्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए।

कार्यक्रममा गायिका परियारले गीतसंगीतसँगै नेपाली मौलिक संस्कृति र तिहारको परम्परालाई समेत विशेष महत्त्व दिएकी थिइन्। उनले सहभागी दर्शकहरूसँग देउसीभैलो खेल्दै तिहारको सांस्कृतिक रौनक थपेकी थिइन्। उनको देउसीभैलो प्रस्तुतिमा दर्शकहरूले समेत उत्साहपूर्वक साथ दिँदा कार्यक्रमस्थल तिहारमय बनेको थियो।

निकोसिया युथका अध्यक्ष सुरज कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुरेश साह तथा विशिष्ट अतिथिका रूपमा बिना मगरको उपस्थिति रहेको थियो। त्यसैगरी साइप्रसमा क्रियाशील विभिन्न सामाजिक, जातीय तथा अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू अतिथिका रूपमा कार्यक्रममा सहभागी भएका थिए। विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

कार्यक्रमको सञ्चालन रितु चन्द ठकुरीले गरेकी थिइन्।

साइप्रसकै उत्कृष्टमध्येको एक पेभिलियन हलमा आयोजित कार्यक्रममा दर्शकलाई थप आकर्षित गर्न लाइभ एलईडी स्क्रिनसहितको विशेष दृश्य प्रस्तुति राखिएको थियो। उत्कृष्ट ध्वनि तथा प्रकाश व्यवस्थापनले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो।

गायिका शान्तिश्री परियारका साथमा स्थानीय कलाकारहरूले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा मोडल उमा तामाङ, नक्कले स्याङतान, मोडल रसु श्रेष्ठ, सानी मगर, गायक मिङमार दोर्जे लामा, कला मगर, स्विटी मगर, गायक साजन श्रेष्ठ, कुमारी विक, विनय, प्रज्वललगायत कलाकारहरूले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।

विदेशमा रहेर पनि नेपाली कला, संस्कृति, चाडपर्व र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले साइप्रसमा रहेका नेपालीहरूलाई तिहारको सांस्कृतिक माहोलमा एकै ठाउँमा जोड्न महत्वपूर्ण भूमिका खेलेको छ।

निकोसिया युथको आयोजनामा सम्पन्न यस तिहार विशेष कार्यक्रमले प्रवासमा नेपाली सांगीतिक संस्कृतिको महत्त्वलाई उजागर गर्दै नेपाली समुदायबीच आपसी सद्भाव, एकता र आत्मीयता अभिवृद्धि गर्न सफल भएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर