भृकुटीमण्डपमा ‘फुड फेस्टिभल २०२५’ हुदैँ : विश्वभरका नेपाली सेफहरू एक ठाउँ उभिदैँ


नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन, पर्यटन तथा कृषि क्षेत्रको उत्थान र नेपाली सेफहरूको सीप प्रदर्शनका लागि अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख ६ गते शनिबार भव्य रूपमा ‘फुड फेस्टिभल २०२५’ आयोजना गर्ने भएको छ।

काठमाडौं, २०८२ वैशाख ४

कार्यक्रममा सहभागी हुन विश्वभरबाट करिब ५०० नेपाली सेफहरू काठमाडौं आइपुगेका छन्। आयोजनामा रक्तदान, सेफ सम्मान तथा अवार्ड वितरण, नेपाली सांस्कृतिक कार्यक्रम, र परिकार स्टलको प्रदर्शनी जस्ता बहुआयामिक गतिविधिहरू समावेश गरिएका छन्।

सोसाइटीका संयोजक अरुण अधिकारीका अनुसार कार्यक्रमलाई सेफहरूको ‘कुम्भमेला’ को रूपमा चित्रण गरिएको छ। उहाँले यस भव्य आयोजनाले नेपाली सेफहरूको अन्तर्राष्ट्रिय सञ्जाललाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेद्वारा हुने तय गरिएको छ।

फेस्टिभलमा ५० वटा स्टल समावेश गरिनेछ, जसमध्ये ४० वटा विविध जातजातिका खानाका, ५ वटा रैथाने बाली तथा नालीहरूको प्रदर्शन, र ५ वटा पर्यटन प्रवर्द्धनसम्बन्धी जानकारीमूलक स्टल हुनेछन्। खाना स्टलमा नेवारी, थकाली, थारु, राई, लिम्बु आदि समुदायका परम्परागत परिकारहरू, साथै मःम, ढिँडो-सेट, सिस्नोको सुप, हलुवा, पूवा, मही, दही, घ्यू, मह, मिठाई, अकबरे खुर्सानी, फलफूल आदिको स्वाद चाख्न पाइनेछ।

यस फेस्टिभलको माध्यमबाट नेपाली सेफ पेसाको सम्मान र मर्यादा अभिवृद्धि, खानाको अन्तर्राष्ट्रिय बजारीकरण, तथा नेपाल भ्रमण वर्षको सन्देशलाई सशक्त रूपमा प्रवाह गर्ने लक्ष्य लिइएको आयोजकको भनाइ छ।

सोसाइटीका अध्यक्ष एलबी कौशलका अनुसार संस्था हाल ३८ देशमा सञ्जाल विस्तार गरिसकेको छ भने १६ देशमा आधिकारिक समिति गठन भइसकेको छ। सन् २०१८ मा यूएईबाट सुरु भएको यो अभियान आज विश्वभर फैलिएको छ।

कार्यक्रमकै अवसरमा पहिलो महाधिवेशन पनि आयोजना गरिने छ, जसबाट नयाँ कार्यसमिति चयन गरिनेछ।

संयोजक अधिकारीले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै, सर्वसाधारण, सेफ समुदाय, विद्यार्थी तथा पर्यटनप्रेमीहरूलाई कार्यक्रम अवलोकन गर्न अनुरोध गर्नुभएको छ।

सम्पर्क जानकारी:
📧 chefnepalsociety@gmail.com
📞 ९८४९६०७०२१ / ९८१८८५३२२०


inter -college cooking competition का केही झलकहरु हेर्नुहोस :

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर