मार्च १४ ,साइप्रस — युरोपको साइप्रसमा रहेको शेर्पा किदुक साइप्रसले ग्याल्पो लोसारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम २०२५ गत आइतबार सफलतापूर्वक सम्पन्न गरेको छ।
हिमाली बौद्ध धर्मावलम्बीहरूका लागि विशेष मानिने ग्याल्पो लोसार ‘नयाँ वर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प वर्ष)’ को अवसरमा शेर्पा किदुक साइप्रसले मार्च ९, आइतबार भव्य कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमको उद्घाटन संस्थाकी अध्यक्ष छिरिङ याङ्जुम शेर्पा तथा प्रमुख अतिथि, अवैतनिक नेपाली वाणिज्य दूतावास प्रमुख डा. राम जीवन पन्जियारले दीप प्रज्वलन गर्दै गर्नुभएको थियो।
संस्थाले हरेक वर्ष प्रख्यात गायकहरूको साथमा ग्याल्पो लोसार मनाउने परम्परा यस वर्ष पनि निरन्तरता दिँदै, आइतबार जर्मनीका चर्चित गायक आङ तेन्जी शेर्पाको सहभागितामा मनाएको हो।
संस्थाकी अध्यक्ष छिरिङ याङ्जुम शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि डा. राम जीवन पन्जियार तथा विशेष अतिथि लामा लाक्पा ग्याल्छेन शेर्पा हुनुहुन्थ्यो। कार्यक्रममा गायक आङ तेन्जी शेर्पाको प्रस्तुतिसँगै स्थानीय कलाकारहरूले समेत आकर्षक प्रस्तुति दिएका थिए। साइप्रसमा पहिलो पटक सांगीतिक कार्यक्रमका लागि आएका गायक शेर्पाले ‘बस्यो मायाले’, ‘डाँडाको गुम्बा’, ‘तिमी बिना’, ‘हिमाली खर्क’, ‘कुसुमे रुमाल’, ‘यो साँचो माया’, ‘लोसार मेला’ र ‘ल्हासा दरबार’ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गरे।
कार्यक्रममा शेर्पा समुदायको मौलिक नृत्य ‘स्यार्बु’ तथा तामाङ सेलो प्रस्तुत गरिएको थियो। साथै, साइप्रसमा रहेका विभिन्न जातीय संस्थाहरू— किरात याक्थुङ चुम्लुङ साइप्रस, नेपाल मगर संघ साइप्रस, किरात राई यायोख्खा साइप्रसले पनि आफ्ना परम्परागत नृत्यहरू प्रस्तुत गर्दै सांस्कृतिक विविधताको झल्को दिएका थिए। स्थानीय कलाकारहरूको नृत्य तथा गायन प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बने।
कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव आङ सानु शेर्पाले गरेकी थिइन् भने उपाध्यक्ष आङ फुर्वा शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
लिमासोलको नियोफिएस्टा हलमा सम्पन्न भएको उक्त कार्यक्रममा साइप्रसमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।
स्थापनाकालदेखि नै सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको शेर्पा किदुक साइप्रसले आफ्नो एक दशक पूरा गरिसकेको छ। संस्थाले साइप्रसमा नेपाली समुदायको हितमा निरन्तर योगदान दिँदै आएको छ।
उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरू, कलाकार तथा सहभागीहरूलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको थियो।
कार्यक्रमका केही झलकहरु:





