
साईप्रस:
साइप्रसमा स्थापना भएदेखि नै सक्रिय रहँदै आएको संस्था शेर्पा किदुक साइप्रसद्वारा आयोजित ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम – २०२५ अन्तिम तयारीमा रहेको आयोजकले जनाएको छ।
हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार (नयाँ वर्ष २१५२ औं – स्यिङ मो डुल ल्हो, सर्प वर्ष) को अवसरमा शेर्पा किदुक साइप्रसले आगामी मार्च ९, आइतबार उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
संस्थाले प्रत्येक वर्ष झैँ यस वर्ष पनि चर्चित गायकहरूसँग कार्यक्रम मनाउने परम्परा कायम राख्दै जर्मनीमा रहेका लोकप्रिय गायक आङ तेन्जी शेर्पालाई आमन्त्रण गरेको छ। उनले बस्यो मायाले, डाँडाको गुम्बा, तिमी बिना, हिमाली खर्क, कुसुमे रुमाल, यो साँचो माया, लोसार मेला, ल्हासा दरबार जस्ता लोकप्रिय गीत प्रस्तुत गर्नेछन्।
आयोजकका अनुसार गायक आङ तेन्जी शेर्पासँगै स्थानीय कलाकारहरूले पनि आकर्षक प्रस्तुति दिनेछन्। कार्यक्रम लिमासोलको नियोफिएस्टा हलमा बिहान १० बजेदेखि सुरु हुनेछ। सहभागीहरूका लागि २० युरो टिकट व्यवस्था गरिएको छ।
साइप्रसमा सामाजिक कार्यमा सक्रिय शेर्पा किदुक साइप्रसले हालसम्म एक दशक पूरा गरिसकेको छ। विभिन्न सामाजिक गतिविधिहरूमा संलग्न रहँदै आएको यस संस्थाले नेपाली समुदायलाई एकजुट गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
कार्यक्रममा सम्पूर्ण साइप्रसवासी नेपालीहरूको उपस्थितिको लागि आयोजकले विशेष निमन्त्रणा गरेको छ।

