लार्नाका, साईप्रस।
दूरदेशमा रहेर पनि आफ्नो संस्कृति र खेलप्रतिको प्रेमलाई जीवन्त राख्दै, साइप्रसका नेपालीहरूले यस वर्षको शुभ दीपावलीलाई खेलकुदको भव्य उत्सवका साथ मनाएका छन्। ‘बुद्ध फुटबल युवा क्लब लार्नाका’ को आयोजनामा भएको “प्रथम बुद्ध फुटबल फुट्सल गेम लार्नाका” प्रतियोगिता मिति १९ अक्टोबर २०२५, आइतबारका दिन लार्नाकास्थित Musit Football Academy मा भव्यताका साथ सम्पन्न भएको छ।

विजेता BFC RED टिम
बिहानैदेखि उत्साहजनक माहोलमा सुरु भएको यस प्रतियोगितामा नेपाली समुदायका १४ वटा सशक्त टिमहरू ले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। दिनभरि चलेका रोमाञ्चक, प्रतिस्पर्धात्मक र मैत्रीपूर्ण खेलहरूले मैदानमा उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्यो।
अत्यन्तै तनावपूर्ण र उच्च स्तरको प्रदर्शन भएको फाइनल खेलमा BFC RED टिमले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै प्रतियोगिताको च्याम्पियन ट्रफी उचाल्न सफल भयो। यस्तै, सशक्त दाबेदारी प्रस्तुत गरेको God Greace टिमले उपविजेतामा चित्त बुझायो।

पुरस्कार र सम्मान:
विजेता BFC RED टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रसहित १,००० युरो को नगद पुरस्कार प्रदान गरियो। उपविजेता God Greace टिमले भने ट्रफी, मेडल र प्रमाणपत्रका साथै ५०० युरो नगद पुरस्कार प्राप्त गर्यो।
व्यक्तिगत उपलब्धि हरु:
- उत्कृष्ट खेलाडी (Best Player): विजेता टिमका कप्तान Khaku Pun ले मैदानमा आफ्नो नेतृत्व क्षमता र जादुयी खेल प्रदर्शन गर्दै ‘बेस्ट प्लेयर’ को महत्त्वपूर्ण उपाधि हात पारे।

- सर्वाधिक गोलकर्ता (Highest Scorer): सोही टिमका स्ट्राइकर Pranis ले उत्कृष्ट गोल क्षमता देखाउँदै कुल ७ गोल का साथ ‘हाइ स्कोरर’ को उपाधि आफ्नो नाममा लेखाए।

- उत्कृष्ट गोलकिपर (Best Goal Keeper): उपविजेता God Greace टिमका Manish Raj Kaya ले आफ्नो टिमलाई फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेल्दै ‘बेस्ट गोल किपर’ को उपाधि जिते।

प्रतियोगिताको सेमिफाइनलसम्मको कडा यात्रामा विजेता र उपविजेता टिमसँगै pafos fc Red लगायत अन्य टिमहरूले पनि आफ्नो छाप छोड्न सफल भए।
सामुदायिक एकताको सन्देश:
प्रतियोगिताको समापन समारोहमा बोल्दै आयोजक ‘बुद्ध फुटबल युवा क्लब लार्नाका’ ले साइप्रसमा रहेको सम्पूर्ण नेपाली खेलप्रेमी, बुद्धिजीवी, समाजसेवी, खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापनलाई प्रतियोगिता सफल पार्न सक्रिय सहयोग गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
क्लबका पदाधिकारीहरूले यस प्रकारका खेलकुद कार्यक्रमहरूले विदेशमा रहेका नेपाली युवाहरूलाई व्यस्त राख्दै, स्वस्थ प्रतिस्पर्धा र आपसी एकता र सद्भावको सूत्रमा बाँध्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।