बैंकक, थाइल्याण्ड । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले थाइल्याण्डको ख्लोङ साम सबडिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ अर्गनाइजेसन (SAO) को अध्ययन भ्रमण गरेको छ। भ्रमणका क्रममा स्थानीय शासन प्रणाली, सेवा प्रवाह, विपद् व्यवस्थापन, शिक्षा, आपत्कालीन स्वास्थ्य सेवा तथा सामुदायिक स्वास्थ्यका क्षेत्रमा अपनाइएका अभ्यासबारे जानकारी तथा अनुभव आदानप्रदान गरिएको छ।
ख्लोङ साम सबडिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ अर्गनाइजेसनका प्रमुख एसोसिएट प्रो. डा. विरासाक हाड्डाले गोकर्णेश्वर नगरपालिकाको प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए।
मेयर रिसाल र प्रमुख एसोसिएट प्रो. डा. हाड्डाबीच भएको द्विपक्षीय छलफलमा नेपाल र थाइल्याण्डका स्थानीय तहबीच अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने तथा स्थानीय तहमा प्रभावकारी सेवा प्रवाहका उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो।
भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले ख्लोङ साम SAO का विभिन्न विभागका प्रमुख तथा परिषद्का सदस्यहरूसँग भेटघाट तथा छलफल गरेको थियो। सो अवसरमा ख्लोङ सामको स्थानीय शासन प्रणाली, प्रशासनिक संरचना र नागरिकमुखी सेवा प्रवाहका अभ्यासबारे विस्तृत जानकारी दिइएको थियो।
प्रतिनिधिमण्डलले शिक्षा तथा संस्कृति विभागको समेत अवलोकन गरेको थियो। सो क्रममा स्थानीय शिक्षा प्रणाली तथा बालबालिका र युवाको विकासका लागि सञ्चालन भइरहेका विभिन्न कार्यक्रमबारे जानकारी लिइएको थियो।
त्यसैगरी, विपद् रोकथाम तथा न्यूनीकरण विभागको अवलोकन गर्दै विपद् पूर्वतयारी, सुरक्षा व्यवस्था, उद्धार तथा विपद् व्यवस्थापनका अभ्यासबारे अध्ययन गरिएको थियो।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले आपत्कालीन चिकित्सा सेवा (Emergency Medical Services) इकाइको पनि अवलोकन गरेको थियो। स्थानीय समुदायलाई आवश्यक परेको समयमा तत्काल उद्धार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने आपत्कालीन प्रतिक्रिया प्रणालीबारे प्रतिनिधिमण्डललाई जानकारी दिइएको थियो।
त्यस्तै, ख्लोङ साम सबडिस्ट्रिक्ट हेल्थ प्रमोसन हस्पिटलको भ्रमण गरी समुदायस्तरमा प्रदान गरिँदै आएको आधारभूत स्वास्थ्य सेवा, प्राथमिक स्वास्थ्य व्यवस्थापन तथा जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रमबारे पनि जानकारी आदानप्रदान गरिएको थियो।
अध्ययन भ्रमणले नेपाल र थाइल्याण्डका स्थानीय तहबीच स्थानीय शासन, शिक्षा, विपद् व्यवस्थापन, आपत्कालीन सेवा तथा सामुदायिक स्वास्थ्यका क्षेत्रमा अनुभव आदानप्रदान र भावी सहकार्यका लागि महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
उक्त अध्ययन भ्रमणको समन्वय तथा व्यवस्थापन Universal Goodness Organization (UGO) ले गरेको हो। नेपाल तथा अन्तर्राष्ट्रिय स्थानीय तह र समुदायबीच सहकार्य, ज्ञान आदानप्रदान तथा आपसी सम्बन्ध विस्तारका लागि UGO ले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ।
UGO को पहल तथा समन्वयमा सम्पन्न उक्त भ्रमणले नेपाल र थाइल्याण्डका स्थानीय सरकारबीच आपसी सिकाइ, अनुभव आदानप्रदान र सहकार्यलाई थप मजबुत बनाउने विश्वास UGO का अध्यक्ष राकेश महर्जनले व्यक्त गरेका छन्।