न्यूयोर्क । अमेरिकाको न्यूह्याम्पसायर राज्यमा बसोबास गर्ने नेपाली अमेरिकी समुदायले नेपालका भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
न्यूह्याम्पसायर नेपाली समाजको अगुवाइमा सञ्चालन गरिएको राहत संकलन अभियानमार्फत १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।
समाजका अध्यक्ष लाक्पा शेर्पा नेतृत्वको प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित एक समारोहबीच उक्त सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछिको विपदमा सहयोग गर्ने नेपाली अमेरिकी समुदाय, विदेशमा बसोबास गर्ने नेपाली तथा नेपालप्रति सद्भाव राख्ने सबैप्रति धन्यवाद व्यक्त गरे । उनले यस्तो सहयोगले सरकारको राहत तथा पुनर्स्थापना अभियानमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै सहयोग रकम जिम्मेवार र उचित ढंगले परिचालन गरिने विश्वास व्यक्त गरे ।