काठमाडौं । सरकारले नेपालमा गर्न रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ । आयोजक संस्था इन्टरनेसनल एसोसिएसन फर तिब्बेन स्टडिज (आएटीए) को बोर्डले तोकिएकै समयमा अब भर्चुअल माध्यमबाट सम्मेलन गर्ने घोषणा गरेको हो ।
नेपालको तर्फबाट सहआयोजक काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज सेन्टर फर बुद्धिस्ट स्टडिजले सम्मेलनबाट हात झिकेपछि आयोजकले यसलाई अनलाइनबाट भर्चुअल सम्मेलन अगस्ट २३( २९ सम्म नै गर्ने घोषणा गरेको हो ।
अगस्ट ७ मा आइएटिएसको सञ्चालक समितिले सम्मेलनलाई कसरी अघि बढाउने भन्ने विषयमा आकस्मिक अनलाइन बैठक आयोजना गर्यो । बैठकले सम्मेलनको संयोजकको जिम्मेवारी आफैंले लिने र १७औँ सेमिनार अब अनलाइन कार्यक्रमका रूपमा आयोजना गर्ने निर्णय गरेको छ’ सल्लाहकार बोर्डको तर्फबाट फ्राँस्वाज रोबिन र उल्रिके रोएस्लरले जारी गरेको सूचनामा छ ।
आइएटिएसले अन्तिम समयमा कार्यक्रम रोक्ने घटनाले नेपालमा भविष्यमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम आयोजना गर्ने विषयमा प्रश्न उठाउने र नेपाललाई यसबाट आर्थिक तथा प्रतिष्ठामा समेत क्षति हुने दाबी गरेको छ ।
तिब्बती मामिलाको संवेदनशीलताका कारण चीनले समेत सरोकार राखेपछि नेपाल सरकारले गत साता यो सम्मेनल नेपालमा गर्ने रोक लगाएको थियो ।
आइएटिएसको १७ औं सम्मेलन रोक्नका लागि मुख्यसचिव गोविन्दबहादुर कार्की र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सह-आयोजक काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका थिए ।
उक्त निर्देशनपछि आयोजक संस्थालाई नेपालमा कार्यक्रम हुननसक्ने मौखिक जानकारी गराइएको थियो । अहिले सम्म सम्मेलन रोकिएकोबारे नेपाल सरकारबाट लिखित सूचना प्राप्त नगरेको आयोजकले उल्लेख गरेका छन् । सरकारले रोक लगाएपछि काठमाडौं विश्वविद्यालये आइएटिएस बोर्डलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।
यो कार्यक्रम नेपालमा गर्नका लागि सन् २०२३ मै काठमाडौं विश्वविद्यालयसँग सहमति भएको र त्यसपछि सम्मेलनका तयारीका चरणमा कसैले कुनै आपत्ति र चासो नराखेको दाबी गरेको छ ।