अमेरिकामा एच-१बी (H-1B) लगायतका रोजगारमा आधारित अस्थायी भिसा बाहकहरूका लागि हाल कायम रहेको ६० दिने ग्रेस पिरियड (Grace Period) हटाउने प्रस्ताव अमेरिकी गृह सुरक्षा मन्त्रालय अन्तर्गतको नागरिकता तथा अध्यागमन सेवा द्वारा अघि बढाइएको छ। यससम्बन्धी प्रस्तावित नियम हाल ह्वाइट हाउसको अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (OMB) मा समीक्षाको चरणमा रहेको छ।
यो प्रस्ताव अझै अन्तिम कानुन भइसकेको छैन। ओएमबी (OMB) को समीक्षा पूरा भएर आवश्यक कानुनी प्रक्रिया तथा सार्वजनिक टिप्पणीका चरणहरू पार गरेर मात्रै यो लागू हुने वा नहुने टुंगो लाग्नेछ। तसर्थ, हाललाई पुरानै ६० दिने सुविधा कायम रहेको छ।
यदि यो प्रस्ताव अन्तिम रूपमा पारित भएमा, जागिर गुमाएका वा रोजगारदातासँगको सम्बन्ध टुट्न पुगेका विदेशी कामदारहरूले अर्को रोजगारी खोज्न वा आफ्नो कानुनी स्तर (Status) परिवर्तन गर्न पाउने समयसीमा समाप्त हुनेछ। यसले गर्दा प्रभावित कामदार तथा उनीहरूमा आश्रित परिवारका सदस्यहरू तत्कालै कानुनी जोखिममा पर्न सक्नेछन्।
हालको नियमअनुसार कुनै पनि एच-१ बी कामदारले जागिर गुमाएमा उसले अमेरिका नछोडी नयाँ रोजगारदाता फेला पार्न वा अन्य वैध भिसा/स्टाटसमा जानका लागि अधिकतम ६० दिनको समय पाउँदै आएका छन्। यो अवधिलाई कामदारहरूका लागि एक प्रकारको कानुनी सुरक्षा वा समयसीमा मानिन्छ।
आप्रवासन नीतिहरूलाई थप कडा बनाउँदै लगेको वर्तमान अमेरिकी प्रशासनले लामो समय (जस्तै ७ वर्ष वा सोभन्दा बढी) देखि अमेरिकामा बसोबास गर्दै आएका कागजातविहीन वा योग्य व्यक्तिहरूलाई ग्रिन कार्डका लागि आवेदन दिन बाटो खोल्ने छुट्टै विधेयकहरूमाथिको बहससँगै यस्ता कडाइका प्रस्तावहरू पनि सँगै अगाडि बढाएको छ।