साइप्रस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न देशमा रहेका नेपालीहरूलाई संगठित गर्ने उद्देश्यले ‘प्रवास नेपाली सम्पर्क विभाग’ को नेतृत्व विस्तार गरेको छ । यसै क्रममा रास्वपाले युरोपेली राष्ट्र साइप्रसको प्रमुखको जिम्मेवारी मैना कार्कीलाई तोकेको छ ।
युरोपमा रहेका नेपालीहरूमाझ पार्टीको संगठन विस्तार र समन्वयका लागि कार्कीलाई साइप्रसको नेतृत्व सुम्पिएको हो । साइप्रससहित रास्वपाले विश्वका विभिन्न महादेशका दर्जनौं देशहरूमा विभागका प्रमुखहरूको नाम टुंगो लगाएको छ ।
साइप्रसबाहेक युरोपका अन्य राष्ट्रहरूमा पनि रास्वपाले नयाँ नेतृत्व चयन गरेको छ । जसअनुसार स्पेनमा विकास लामा, फ्रान्समा कविन्द्र कायस्थ, जर्मनीमा अमृत पौडेल र बेल्जियममा कृष्ण दाहालले जिम्मेवारी पाएका छन् । त्यस्तै, नेदरल्याण्ड्समा अञ्जन गुरुङ, अष्ट्रियामा विकास कार्की, नर्वेमा जीवन उप्रेती, लक्जेम्बर्गमा जितु थापा र डेनमार्कमा शशी ढकाल प्रमुख चयन भएका छन् ।
युरोपतर्फ नै स्विजरल्याण्डको नेतृत्व रेशम खत्रीलाई दिइएको छ भने पोल्याण्डमा विदुर शर्मा, फिनल्याण्डमा रुक्मिणी भट्टराई, पोर्चुगलमा नर फगामी, माल्टामा राजेन्द्र भण्डारी, रोमानियामा असीम दियाली र आयरल्याण्डमा अभेद्यपाणी गौतमले प्रवास नेपाली सम्पर्क विभागको नेतृत्व पाएका छन् ।
उत्तर अमेरिकातर्फ अमेरिकाको नेतृत्व चेतराज उपाध्याय र क्यानडाको नेतृत्व कुमार उप्रेतीले गरिरहेका छन् । त्यस्तै, सेचेल्समा प्रदीप सापकोटाले प्रवास नेपाली सम्पर्क विभागको नेतृत्व पाएका छन् ।
एसिया–प्रशान्त क्षेत्रतर्फ पनि पार्टीले विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी तोकेको छ । उपलब्ध विवरणअनुसार अष्ट्रेलियामा डा। कृष्णकान्त पौडेल, न्युजिल्याण्डमा अशोक कँडेल, दक्षिण कोरियामा युविन श्रेष्ठ, हङकङमा जेबी गुरुङ र मकाउमा उदित खत्रीलाई प्रमुख बनाइएको छ । यसैगरी, मलेसियामा नेत्र केसी, जापानमा दीपक केसी, भारतमा अर्जुन भण्डारी, थाइल्याण्डमा प्रकाश सुवेदी र माल्दिभ्स्मा प्रवीन कार्कीले विभागको नेतृत्व सम्हालेका छन् ।
खाडी तथा मध्यपूर्वका देशहरूमा पनि रास्वपाले संगठन विस्तारलाई तीव्रता दिएको छ । जस(अन्तर्गत कतारमा अब्दुल करिम, युएईमा सुजन थापा, साउदी अरेबियामा भूपाल भण्डारी र ओमानमा पदम आलेले जिम्मेवारी पाएका छन् । साथै, कुवेतमा ईश्वर भण्डारी, बहराइनमा चिरञ्जीवी पाण्डे र इजरायलमा दुर्गा चापागाईंलाई विभाग प्रमुख तोकिएको छ ।