साइप्रस। साइप्रसको कौरिओन नगरपालिकाको आयोजनामा शनिबार, अक्टोबर ३ मा लिमासोलस्थित इप्सोनासको मारिओस टोकास स्क्वायरमा आयोजित ‘इन्टरकल्चरल स्ट्रिट फेस्टिभल (ISF) २०२६’ सम्पन्न भएको छ। विभिन्न देशका कला, संस्कृति, संगीत, नृत्य र परम्परालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित महोत्सवमा नेपाली समुदायले आफ्नो मौलिक सांस्कृतिक नृत्यसँगै नेपाली परिकारहरू प्रस्तुत गरेको थियो।

नेपाली महिला कल्याण तथा सांस्कृतिक संघ साइप्रस (NWWCA Cyprus) को सहभागितामा नेपाली कलाकारहरूले महोत्सवको एम्फिथिएटरमा नेपाली परम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। महोत्सवको निर्धारित कार्यक्रमअनुसार नेपाली सांस्कृतिक नृत्य साँझ ७:३५ देखि ७:४० बजेसम्म प्रस्तुत गरिएको थियो।

महोत्सवमा नेपाली समुदायले सांस्कृतिक प्रस्तुतिसँगै नेपाली खानाको स्वादसमेत विदेशी पाहुनामाझ परिचित गराएको थियो। फेस्टिभलमा उपस्थित स्वदेशी तथा विदेशी पाहुनाहरूका लागि तयार पारिएका पोर्क मोमो, चिकन मोमो लगायतका स्वादिष्ट नेपाली परिकारहरू राखिएको स्टलमा आगन्तुकहरूको उल्लेखनीय आकर्षण देखिएको थियो। नेपाली परिकारको स्वाद लिएका पाहुनाहरूले खानाको खुलेर प्रशंसा गरेका थिए। नेपाली खानाप्रतिको यो आकर्षणले नेपाली मौलिक खानाको स्वाद र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउन योगदान गरेको थियो।

कौरिओन नगरपालिकाको आयोजनामा भएको उक्त महोत्सवमा नेपाली, भारतीय, गाम्बियन, फिलिपिनो लगायत विभिन्न समुदायका कलाकार तथा सांस्कृतिक समूहहरूको सहभागिता रहेको थियो। महोत्सवको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार, सामुदायिक समूह तथा स्वतन्त्र कलाकारहरूले संगीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुति दिएका थिए।
महोत्सवको निर्धारित कार्यक्रमअनुसार साँझ ६:४० बजे ‘अ लिभिङ मोजाइक अफ कल्चर्स’ शीर्षकको वृत्तचित्र प्रदर्शन गरिएको थियो। त्यसपछि फिलिपिनो समुदायको ‘पारो पारोङ बुकिड’, भारतीय समुदायको ‘रिदम्स अफ इन्डिया’, नेपाली सांस्कृतिक नृत्य तथा ‘स्टारलाइट’ समूहको ‘रेगे भाइब्स’ प्रस्तुत गरिएको थियो। साँझ ८ बजे ‘टुट एनेई’ को सांगीतिक प्रस्तुति पनि आयोजना गरिएको थियो।
विभिन्न देशका समुदायलाई एकै स्थानमा भेला गराई सांस्कृतिक विविधता, आपसी मित्रता र सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको थियो। साँझ ४ बजेदेखि राति १० बजेसम्म सञ्चालनका लागि तय गरिएको महोत्सवमा विभिन्न समुदायका परम्परागत कला, सांस्कृतिक पहिचान तथा खानाका परिकारसमेत प्रस्तुत गरिएका थिए।

नेपाली महिला कल्याण तथा सांस्कृतिक संघ साइप्रसले नेपाली मौलिक कला, संस्कृति, परम्परा र खानालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने तथा साइप्रसमा रहेका विभिन्न समुदायबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले महोत्सवमा सहभागिता जनाएको थियो।
‘सेलिब्रेटिङ कल्चर, डाइभर्सिटी एन्ड फ्रेन्डसिप’ अर्थात् संस्कृति, विविधता र मित्रताको उत्सव भन्ने नारासहित आयोजित महोत्सवले बहुसांस्कृतिक समाजमा विभिन्न समुदायको पहिचान र सांस्कृतिक आदानप्रदानलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो। नेपाली सांस्कृतिक नृत्य र परिकारको प्रस्तुतिले महोत्सवमा नेपालको कला, संस्कृति र खानाको पहिचानलाई समेत उजागर गरेको थियो।