दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
शनिबार बिहान जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा रहेको सुँगुर फार्मको फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीमा श्रमिक फसेको भन्दै स्थानीय प्रहरीलाई सूचना प्राप्त भएको थियो । जेजु अग्नि सुरक्षा मुख्यालय र जेजु पश्चिमी प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार ३० वर्ष आसपासका भियतनामी श्रमिक ट्यांकीभित्र जडान गरिएको पानीमुनिको पम्पमा समस्या आएको छ कि छैन भनेर जाँच गर्न ट्यांकीभित्र प्रवेश गरेका थिए ।
उनी ट्यांकीभित्र समस्यामा परेपछि उनलाई उद्धार गर्न नेपाली श्रमिक विकास शेर्पा पनि ट्यांकीभित्र प्रवेश गरेका थिए । उक्त ट्यांकी करिब ५ मिटर लम्बाइ, ५ मिटर चौडाइ र ५ मिटर उचाइको रहेको थियो । ट्यांकीको करिब ५० प्रतिशत भाग मलमूत्रलगायत फोहोर पदार्थले भरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाको सूचना प्राप्त भएको करिब ५० मिनेटपछि उद्धार टोलीले दुबै श्रमिकलाई ट्यांकीबाट बाहिर निकालेको थियो । भियतनामी श्रमिकलाई बिहान ८ः४७ बजे र नेपाली श्रमिकलाई ८ः५७ बजे ह्दय गति बन्द भएको अवस्थामा उद्धार गरिएको थियो ।