साइप्रसमा नेपाली घरेलु कामदार र केयर गिभरहरूको अवस्था, अधिकार र चुनौती

साइप्रस आज युरोपको सानो तर आप्रवासी श्रमिकमा अत्यधिक निर्भर देशको रूपमा चिनिन्छ । सन् २०२५ को अन्त्यसम्म साइप्रसमा करिब १३ लाख ७० हजार जनसंख्या रहेको छ भने तीमध्ये झण्डै १ लाख ७५ हजारभन्दा बढी गैर युरोपेली (Third-Country Nationals) कानुनी रूपमा बसोबास गरिरहेका छन् । यी आप्रवासीहरू काम, परिवार पुनर्मिलन, अन्तर्राष्ट्रिय संरक्षण तथा अन्य प्रयोजनका लागि आएका हुन् । सरकारी तथ्याङ्क अनुसार साइप्रसको कुल श्रमशक्तिको झण्डै २८–३० प्रतिशत आप्रवासी कामदारहरू ले धानेका छन्, जसले साइप्रसको अर्थतन्त्रमा उनीहरूको योगदान कति महत्वपूर्ण छ भन्ने स्पष्ट पार्छ ।

यी आप्रवासीमध्ये नेपाली, भारतीय, श्रीलंकाली, फिलिपिनो, भियतनामी, बंगलादेशी र पाकिस्तानी समुदाय उल्लेखनीय रूपमा उपस्थित छन् । सन् २०२५ सम्मको तथ्याङ्क अनुसार साइप्रसमा करिब १५,६०७ भन्दा बढी नेपाली नागरिक कानुनी रूपमा बसोबास गरिरहेका छन्, जबकि समुदायको अनुमानमा यो संख्या २० हजार नाघ्न सक्ने बताइन्छ । नेपालीहरूको उल्लेखनीय आगमन खासगरी पछिल्लो ५,७ वर्षयता तीव्र रूपमा बढेको देखिन्छ । यसको प्रमुख कारण साइप्रसमा वृद्ध जनसंख्या बढ्दै जानु, घरेलु तथा व्यक्तिगत हेरचाह सेवाको माग बढ्नु र स्थानीय कामदारको अभाव हुनु हो ।
नेपाली आप्रवासी कामदारहरू मुख्यतः घरेलु कामदार (Domestic Helpers) र केयर गिभर( (Care Workers) को रूपमा कार्यरत छन् । यी कामहरूमा घर सरसफाइ, खाना पकाउने, बच्चा हेरचाह, बिरामी तथा वृद्ध व्यक्तिको चौबीसै घण्टा हेरचाह, दैनिक व्यक्तिगत सहायता जस्ता जिम्मेवारी पर्छन् । साइप्रसमा दर्ता भएका २० हजारभन्दा बढी घरेलु कामदारमध्ये ठूलो हिस्सा नेपाली, फिलिपिनो, श्रीलंकाली र भियतनामी समुदायका छन् । यसबाहेक केही नेपालीहरू होटल, रेस्टुरेन्ट, क्याफे, सुपरमार्केट, सरसफाइ, निर्माण तथा अन्य सेवा क्षेत्रमा पनि कार्यरत छन्, तर संख्यात्मक रूपमा घरेलु र केयर क्षेत्रमा नै नेपालीहरूको वर्चस्व देखिन्छ ।
तलब र कामको अवस्थाबारे कुरा गर्दा, कागजमा देखाइने सम्झौता र व्यवहारबीच ठूलो अन्तर रहेको देखिन्छ । घरेलु कामदार तथा केयर गिभरहरूको लागि तोकिएको न्यूनतम तलब प्रायः €460 मासिक (ग्रस) रहेको छ, जुन साइप्रसको अन्य क्षेत्रको न्यूनतम तलब करिब €1,000 भन्दा निकै कम हो । कागजमा साप्ताहिक ४०–४२ घण्टा काम उल्लेख गरिए पनि वास्तविकतामा धेरै कामदारहरूले दैनिक १०–१२ घण्टा, साप्ताहिक ५५–६० घण्टासम्म काम गर्न बाध्य भएको गुनासो गर्दै आएका छन् । यसरी गणना गर्दा कतिपय घरेलु कामदारको प्रतिघण्टा आम्दानी €1.30 भन्दा पनि कम पर्ने तथ्य अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरिसकेका छन् ।
यसबाहेक, धेरै कामदारहरू अनुचित तलब कटौती, खाना र बसोबासको नाममा कटौती, ओभरटाइमको भुक्तानी नपाउने, नियमित बिदा नदिने, मानसिक दबाब दिने जस्ता समस्याको सिकार भएका छन् । सबैभन्दा गम्भीर समस्या भनेको पासपोर्ट नियन्त्रण हो । धेरै रोजगारदाताले कामदारको मूल पासपोर्ट आफूसँग राख्ने गरेका छन्, जुन साइप्रसको कानुन अनुसार गैरकानुनी मात्र होइन, मानव तस्करी तथा श्रम शोषणको संकेतसमेत मानिन्छ । पासपोर्ट कामदारको निजी सम्पत्ति हो र रोजगारदाताले केवल फोटोकपी मात्र राख्न पाउने व्यवस्था छ ।
अर्को गम्भीर विषय हो नगद तलब (Cash in Hand) दिने प्रचलन । विगतमा धेरै घरेलु कामदार बैंक खाता नखोली नगदमा तलब पाउने गर्थे, जसले गर्दा तलब कम दिएको, नदिएको वा सामाजिक बीमा नकटाएको प्रमाण जुटाउन कठिन हुन्थ्यो । तर अहिले साइप्रसले आफ्नो Protection of Wages Law संशोधन गरी तलब कामदारको आफ्नै बैंक खातामा वा चेकमार्फत दिनु अनिवार्य बनाएको छ । नगद तलब केवल अस्थायी रूपमा अधिकतम चार महिना मात्र स्वीकार्य छ, त्यो पनि बैंक खाता खोल्ने प्रक्रियामा रहेको प्रमाण भएमा । यसबाहेक हरेक कामदारलाई Payslip तलब विवरण दिनु पनि कानुनी रूपमा अनिवार्य गरिएको छ ।
यी कानुनी व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयन कमजोर हुँदा धेरै घरेलु कामदार अझै पनि शोषणमा परिरहेका छन् । यसको कारण घरेलु काम प्रायः निजी घरभित्र, बाहिरी निगरानीबिनै हुने, कामदार रोजगारदातामै बस्नुपर्ने र आवास, भिसा तथा रोजगारी सबैमा रोजगारदातामाथि निर्भर हुनुपर्नु हो । यही निर्भरता नै अन्याय सहन बाध्य बनाउने प्रमुख कारण बनेको छ ।
तर समस्या समाधानका उपाय पनि छन् । साइप्रसको ( Department of Labour Relations र Ombudsman) नागरिक अधिकार आयोगले तलब, करार उल्लंघन, पासपोर्ट नियन्त्रण, भेदभाव र शोषणसम्बन्धी उजुरी लिन र अनुसन्धान गर्न सक्ने अधिकार राख्छन् । साथै KISA (Action for Equality, Support, Anti-Racism) जस्ता गैरसरकारी संस्थाहरूले आप्रवासी कामदारलाई निःशुल्क कानुनी सल्लाह, उजुरी प्रक्रिया, कागजात तयारी र संरक्षणमा सहयोग गर्दै आएका छन्। यदि समस्या प्रणालीगत र व्यापक देखिएमा, ती विषयहरू युरोपेली संघ, Council of Europe (GRETA), International Labour Organization (ILO) तथा संयुक्त राष्ट्रसंघका मानवअधिकार संयन्त्रहरू समक्ष समेत उठाउन सकिन्छ । यस्ता अन्तर्राष्ट्रिय दबाबकै कारण साइप्रसलाई घरेलु कामदारको कानुनी सुरक्षा सुधार गर्न निरन्तर आग्रह गरिँदै आएको छ ।
अन्ततः, साइप्रसमा कार्यरत नेपाली घरेलु कामदार र केयर गिभरहरू केवल श्रमिक मात्र होइनन्, उनीहरू यस देशको सामाजिक संरचना धान्ने मौन स्तम्भहरू हुन्। वृद्ध, अशक्त र बालबालिकाको हेरचाह गरेर उनीहरूले साइप्रसको समाजलाई स्थिर र चलायमान बनाइरहेका छन्। त्यसैले उनीहरूको श्रमको सम्मान, कानुनी संरक्षण र मानवीय व्यवहार सुनिश्चित गर्नु राज्य, समाज, रोजगारदाता, समुदाय र हामी सबैको साझा जिम्मेवारी हो।
नेपाली राजदूतावास, मानार्थ वाणिज्य दूत, गैर आवासीय नेपाली संघ एनआरएनए लगायतका संस्थाहरू यस समस्याप्रति पूर्ण रूपमा अनभिज्ञ छैनन् भन्ने विश्वास गर्न सकिन्छ, र आ आफ्नो स्तरमा पहल र प्रयासहरू पनि भएका होलान् साथै हाल साइप्रसमा इन्टरनेसनल सेफ सोसाइटी ले केही पहल प्रयास गरेको कार्य श्रहानिय छ तर यथार्थ के हो भने ती प्रयासहरूबाट पीडित श्रमिकहरूको जीवनमा देखिने खालको ठोस र दिगो सुधार अझै देखिएको छैन, जुन गम्भीर आत्ममूल्याङ्कनको विषय हो।
यो लेख पढ्ने प्रत्येक नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह छ , आफ्नो हक र अधिकार चिन्नुहोस्, अन्याय सहन बाध्य नबन्नुहोस्, र कानुनी बाटो अपनाउन कहिल्यै नडराउनुहोस्। सम्पूर्ण नेपालीहरू एकजुट भएर आफ्नो अधिकारको पक्षमा उभिने हो भने यी समस्याहरू समाधान हुँदैनन् भन्न सकिँदैन। टिकटक हेर्न नछोड्नुहोस्, फेसबुक चलाउन पनि नछोड्नुहोस्, आफ्ना जातीय, क्षेत्रीय र सांस्कृतिक परम्परा, रीतिरिवाज, धर्म कर्मलाई पनि निरन्तरता दिनुहोस् यी सबै हाम्रो जीवनका अपरिहार्य अंश हुन्। तर युरोपियन युनियनको सदस्य राष्ट्र साइप्रसले प्रत्याभूत गरेको कानुनी हक अधिकार खोज्न नसक्नु भने हाम्रो आफ्नै कमजोरी हो।
अब चुपचाप सहेर बस्ने जमाना छैन। अधिकार मागेर होइन, बुझेर, संगठित भएर र कानुनी रूपमा लडेर लिने समय आएको छ। एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो, र यही एकताबाट मात्र साइप्रसमा कार्यरत नेपाली श्रमिकहरूको जीवनमा वास्तविक परिवर्तन सम्भव छ।

😀
0
😍
0
😢
0
😡
0
👍
1
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर