काठमाडौं । खाना पकाउने एलपी ग्यासमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुन सक्ने सूचनापछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा निगरानी बढाएको छ।
गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको हो।
ग्यासको आपूर्ति, बिक्री वितरण तथा मूल्यमा अनियमितता भइरहेको छ कि छैन भन्ने विषयमा प्रहरीले सूक्ष्म निगरानी गरिरहेको जनाइएको छ।
विशेषगरी ग्यास लुकाउने, कृत्रिम अभाव देखाउने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने तथा उपभोक्तालाई अनावश्यक दुःख दिने गतिविधिमाथि निगरानी केन्द्रित गरिएको छ।
सरकारले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई सक्रिय बनाउँदै कालोबजारी तथा अवैध भण्डारण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने तयारी गरेको छ।
ग्यासको आपूर्ति र वितरण प्रणालीमा देखिन सक्ने समस्या तत्काल पहिचान गरी उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन अनुगमनलाई थप प्रभावकारी बनाइने बताइएको छ।
सरकारको पछिल्लो कदमसँगै उपत्यकाका ग्यास डिपो सञ्चालक तथा विक्रेतामाथि निगरानी कडा पारिएको छ।