दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव भेटिएको छ ।
भेटिएका शव गत वर्षको कात्तिक १७ गते यलुङ-री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकाहरू भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड़काले जानकारी दिए ।
स्थानीयले पाँचवटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसनले शव सङ्कलन र पहिचानका लागि शुक्रबार यलुङ-री हिमाल क्षेत्रमा हेलिकोप्टर पठाएको थियो । तर, मौसम खराब भएका कारण सोमबार हेलिकोप्टर घटनास्थलसम्म पुगेर तीनवटा शव गोंगर भन्ने स्थानमा ल्याइसकेको र २ वटा शव लिन पुन: हेलिकोप्टर घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी खड़काले जानकारी दिए । मौसम सुधार भए आज नै पाँच वटा शव गोंगर ल्याईनेछ ।
गत वर्ष विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणका लागि पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ-री हिमालतर्फ गएका थिए । हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार भएको थियो भने आरोहणका क्रममा सात जना हिमपहिरोमा परी बेपत्ता भएका थिए ।